‘ चेतना नेपाल’-काे अभियानले नयाँ गति लिँदैछ
– ‘जयत्सेन पाण्डव’
लागु पदार्थ ओसार-पसारकाे पाखण्डी व्यापार-धन्धा एवम् आत्मघाती प्रयाेगकर्ताहरूबाट प्रादुर्भाव भइरहेकाे र भइरहने लक्षण दिइरहेका विविध किसिमका जीवनघाती, परिवारघाती, समाजघाती, र अन्ततः यसैकारण, राष्ट्रघाती प्रकाेपकाे क्रमिक विकासमा राज्यका संयन्त्रहरूकाे त, जुनसुकै काेणबाट हेर्दा पनि, पराेक्ष सहयाेग भइरहेकै बुझिन्छ । अतः झापाकाे भद्रपुरमा लगभग २१ वर्ष अघि स्थापित चेतना नेपालले याे घातक विकृतिविरुद्धकाे अभियान अविश्रान्तरूपमा अगाडि बढाइरहेकाे छ ,जसकाे प्रभाव केही समययता देशकाे पूर्वी क्षेत्रमा व्यावहारिक धरातलमै आकृत हुन थालेकाे छ । याे चेतना नेपालकाे एकल प्रयत्नकाे परिणाम हाे भन्न हिचकिचाउन पर्दैन ।
अर्थात् , हालकै अवस्थादेखि अझ आगामी दिनहरूमा चर्किंदै जाने सम्भावना रहेकाे याे विकृतिकाे न्यूनीकरणमा राज्य-संयन्त्रहरू अपेक्षितरूपमा तदारुक देखिइरहेका छैनन् । राज्यले २०२३ सालदेखि २०८० सम्म लागु पदार्थकाे अवैध ओसार-पसार-व्यापार र प्रयाेग राेकथाम सम्बन्धी दर्जनाैं ऐन-कानून, निर्देशिका, कार्यबिधि आदि बनाएकाे छ तापनि सरकारी संयन्त्रहरू तदनुरूप कारवाहीमा अगाडि बढ्न सकेका छैनन् र किन ? याे प्रश्न यस सन्दर्भमा बलियाे बन्दै गएकाे अवस्था छ अहिले । कानून र नीति-नर्देशिकाहरू बनाउने र तिनलाई फाइलकाे न्यानाे कम्बल ओडाएर सिंहदरवारका वातानुकुलित काेठाहरूमा सुताउने गरिएकाे पाेल हालै प्रकाशित र व्यापक चर्चामा रहेकाे पुस्तक ‘दिव्य दृष्टि’-ले साहसपूर्वक खाेलेकाे छ ।
उक्त पुस्तक लागुु पदार्थकाे पाखण्डी धन्धा र प्रयाेगकाे जहरिलाे प्रकाेप विराेधी अभियानमा विगत २१ वर्षदेखि अटुट संलग्न संस्था चेतना नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीका लामाे अनुभव र व्यापक खाेज-अनुसन्धानकाे एउटा गत्तिलाे दस्तावेज बनेकाे छ । राज्यले कहिले के कानून बनायाे,कस्ताे निर्देशिका रच्याे वा कस्ताे कार्यनीति तय गर्याे अनि ती सबै कार्यान्वयन नगराई थन्क्याएकाे रहेछ भन्ने , वि.सं.२०२३ देखि हालसम्मका, सरकारी रेकर्डका प्रतिकृति (photo copy)-हरूकै रूपमा यस पुस्तकमा खुल्ला उजागर भएकाे छ । यसका अतिरिक्त, यस पुस्तकमा लागु पदार्थकाे ओसारपसार र व्यापारकाे कालाे धन्धाकाे पाखण्डी काराेबार कसरी माैलायाे ? पाश्चात्य देशहरूबाट पर्यटकका रूपमा हिप्पी-जिप्सीहरू आएर यस हिमाली भूमिमा मडारिन थालेबाट याे वर्वादकारी महाराेगी कुलत कसरी यस किशाेर-किशाेरी र नवयुवा हुँदै वयश्कहरूमा समेत संक्रमण हुँदै आयाे भन्ने फेयरिस्त पनि यस पुस्तकमा छ । याे कुलतमा बिटुलिएका सन्ततिका अभिभावकहरूकाे मर्मस्पर्शी पीढा र राेदन-क्रन्दन कति दर्दनाक छन् र यस कुलतमा फँसेकाहरूका पश्चातापका उत्तप्त उच्छवासका सांकेतिक छाेटा सत्य-कथाहरू पनि यस पुस्तकमा प्रशस्तै समावेश भएका छन् । यी सबै भूसकाे आगाे झैं भित्रभित्रै दन्किंदै प्रलयकारी बन्दै आइरहँदा समेत यसकाे न्यूनीकरण, नियन्त्रण र निषेधकाे व्यावहारिक अभ्यासमा राज्य-संयन्त्रहरूले यसलाई प्राथमिकताक्रममा अपेक्षितरूपमा राख्न सकिराखेका छैनन् वा चाहेका छैनन् र दिनदिनै याे घातक राेग फस्टाउँदै गइरहेकाे छ ? – जस्ता उम्दा प्रश्नहरूका उभार पाठकमा चुल्याउन ‘दिव्य दृष्टि’-का विवरणात्मक पानाहरू समर्थ छन् ।
लागु पदार्थ व्यसनकाे कुलतबाट मुलुककाे भविष्यका कर्णधारहरूलाई नै निकम्मा र गैरजिम्मेवार बनाइरहेकाे दृश्य-परिदृश्यहरू हेर्दा देशप्रति सम्वेदनशील जाे-काेही स्तब्ध हुने अवस्था छ । याे अवस्थामा शीघ्र सुधार भएन भने साँच्चै ‘देश’ केवल यसकाे भूगाेलभित्रकाे ‘माटाे’ मात्रमा सीमित हुन धेरै समय लाग्ने छैन भन्ने तिताे यथार्थलाई ‘दिव्य दृष्टि’-ले सभ्य भाषामा ठाडाे चुनाैति नै दिएकाे छ । समाजकाे तत्कालीन अवस्थामा आइरहेकाे विकृतिका बारेमा सत्यलाई शिराेधार्य गरेर लेखिने पुस्तकाकार कृतिकाे सर्वाेपरि धर्म हाे भन्ने विश्व- मान्यता स्थापित छ । साहित्यमा समाजकाे अनुहार अविकृतरूपमा बिम्बित वा परावृत्त हुनपर्दछ भन्ने त लेखन विधाका महामनाहरूका सर्वमान्य सूक्ति नै छन् । यसरी हेर्दा अहिलेकाे मूल सामाजिक समस्या बनेर विकसित भइरहेकाे लागु पदार्थकाे कुलतकाे पाशाेमा जकडिँदै गइरहेका भविष्यघाती समस्याका स्पष्ट सम्भावना समेतमाथि लेखिएकाे ‘दिव्य दृष्टि’ सफल पुस्तक मान्नुपर्दा र याे कृति देशकाे यश भूखण्डकै अभियन्ताकाे हुनु त अझ गाैरवकाे विषय त हुनैपर्ने हाे ।
हुन त, वितेकाे २१ वर्षदेखि, लागु पदार्थकाे पापी व्यापार र प्रयाेक्ताहरूले देशमा सर्वनाश निम्त्याइरहेका छन् भन्ने आवाज सामाजिक र राष्ट्रिय कित्तामा अनवरत थर्काइरहेका लेखकका, निजी प्रयत्नबाट, यस अघि नै दर्जनाैं पर्चा र पुस्तिका (brochure )-हरू पनि प्रकाशमा आइसकेका छन् । पुस्तककै रूपमा याे उहाँकाे पाँचाै कृति हाे । तर, याे कृतिकाे ओजन अन्यहरूभन्दा उल्लेख्य छ र नै यसले विशेष आकर्षण र चर्चा पाएकाे हाे । अन्ततः काेशी प्रदेशका झापा, माेरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लामा ‘दिव्य दृष्टि’-काे प्रकाशनपछि, याे अभियानले थप गति लिएकै आभास हुने दर्जनाै भेला आयाेजनामा लेखक एवम् प्रशिक्षक इन्द्रप्रसाद ओली र साे संस्थासँग सम्बद्ध अभियानकर्मीहरूबाट समेत निरन्तर प्रशिक्षण दिने काम भइरहेकाे छ । यसैबीचमा, प्रशासन र सुरक्षा निकायहरूले पनि, तुलनात्मक रूपमा, लागु पदार्थ नियन्त्रणमा सक्रियता बढाएका समाचारहरू आएका छन् । जस्तै, अधिकांश सडक दु्र्टघना, सवारी साधन चालक मादक पदार्थ र लागु पदार्थका दुर्व्यसनी भएकै कारणबाट, हुने गरेका जगजाहेर छ । हालैदेखि मात्र झापा र माेरङका त्यस्ता दुर्व्यसनी सवारी चालकहरूलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउन थालेकाे छ । स्थानीय सूचना माध्यमहरूले प्रायः दैनिक नै प्रहरीले इण्डियाका सीमावर्ती क्षेत्रमा जमेका लागु पदार्थकाे व्यापार-काराेबारी साहूहरूका भरियाहरूले विभिन्न नाकाबाट सीमावारि छिराइरहेका विषाक्त लागु पदार्थ पक्रेकाे समाचार दिइरहेका छन् । तर, त्यस्ता अपराधी-बापतीहरूलाई के सजाय गरिँदैछ भन्ने भने कतै प्रचार-प्रसारमा आउँदैनन् – यसलाई कसरी बुझ्नुपर्ने भन्ने कुरा चाहिँ अझै पनि अन्याेलकै गर्तमा छ । यस्ता खतुकी-बापतीलाई हदैकाे कारवाही र सजाय भएकाे समाचार पनि आउने दिइने गरे यस्ताे गैरधन्धा नियन्त्रणमा अवश्यै मनाेवैज्ञानिक मद्दत मिल्ने वातावरण बन्दै जान सक्तैनथ्याे र ?
लागु पदार्थका व्यापारी-काराेबारी र प्रयाेग गर्ने दुर्व्यसनी विरूद्ध क्रियाशील चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षककाे हैसियतले इन्द्रप्रसाद ओलीले हालै इलाम, पाँचथर र ताप्लेजुङसम्म याे अभियानका सघन कार्यक्रमहरू गर्नु भएकाे श्रव्य-दृश्य माध्यमहरूमा खबर आएका छन् । ती जिल्लाका जनप्रतिनिधि, शिक्षक-विद्यार्थी, प्रशासक र सुरक्षाका जिम्मेवारहरूका माझ ओलीकाे प्रस्तुती परिणामदायी भएकाे पनि जानकारी भएकाे छ । केही प्रतिनिधि उदाहरण दिनुपर्दा – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारकाे एउटा कफी पसलमा टिनबिर्के रक्सीमा मह र कफी घाेलेर ‘मुस्ताङे’ नामले आगन्तुक (खासगरी नवयुवा-युवती विद्यार्थी)-लाई बिक्री गरिने चलन हाल बन्द भएकाे छ भने ‘जङ फुड’-काे विज्ञापनमा बाल-बालिकाका तस्वीर प्रयाेग गर्न निषेध भएकाे छ । ती जमघटहरूमा ओलीद्वारा समय-समयमा प्रकाशमा ल्याइएका – (क) ज्येष्ठ नागरिक एवम् भान्सा नै ओैषधालय सम्बन्धी सचेतना कार्यक्रमकाे कार्यपत्र, (ख) किशाेरीहरूमा आत्मरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम,(ग) लागु पदार्थ दुर्व्यसन विरुद्ध जनप्रतिनिधि (पालिका)-सँग अन्तरक्रिया कार्यक्रम, (घ) जङ फुड्स सम्बन्धी सचेतना कार्यक्रम ‘प्रशिक्षण पुस्तिका’, (ङ) लागु ओैषध विरुद्ध विद्यालय सचेतना कार्यक्रम, (च) लागु पदार्थ दुर्व्यसन विरुद्ध अभिभावक सचेतना कार्यक्रम र (छ) सुर्तिजन्य पदार्थकाे नियमन तथा जङ फुड्सकाे असर र प्रभाव सम्बन्धी सचेतना कार्यक्रमकाे कार्यपत्र नामक पुस्तिकाहरू वितरण पनि गरिएकाे थियाे । यी सात पुस्तिका सातै विशेषताका छन्, तिनले वर्तमान सामाजिक जीवनका सातै कित्ता-वृतलाई अलग-अलग किसिमबाट सुधाराा सहयाेग पुग्ने सम्बाेधन गरेका छन् ।
चेतना नेपालकाे याे अभियान सर्वथा समयाेचित र धरातलीयदेखि उपल्लासम्मका नागरिकमा प्रकीर्ण हुँदै गएका विकार विपक्षमा चेतना जाग्रत गराउने प्रयास गरेकाे छ । र , खासगरी याे समय-सालहरूमा, उग्र बन्दै गएकाे लागु पदार्थ दुर्व्यसनकाे हावा-हुरी समन-दमनकाे हकमा याे प्रयास सर्वथा स्वागतयाेग्य त निःसन्देह छँदैछ । यसमा सामाजिक जीवनका सबैकाे सहभागिता र प्रयत्न संगठित हुन सकाेस् भन्ने हार्दिक कामना ।