नेतृत्व गर्नेले गम्भीर भए मात्र भद्रपुरले समृद्धि पाउँछ
नेपालका पुराना नगरहरू मध्ये भद्रपुरको नाम पनि इतिहासमा अग्र स्थानमा भेटन् सकिन्छ । यस नगरसितै घोषित भएका कतिपय नगरपालिकाले आफ्नो स्तर बृद्धि गर्दै उपमहानगर भइसकेका छन् तर भद्रपुरले समय अनुकुल आफ्नो स्तर बृद्धि गर्न सकिरहेको छैन । यसको अपजस नगरको नेतृत्व लिनेहरूले पाइरहेका छन् । उनीहरूकै कारण यस ऐतिहासिक नगरको उन्नति हुन नसकिरहेको आरोप चिर्न नेतृत्व लिने जनप्रतिनिधिहरूले भद्रपुर नगरपालिकालाई समृद्ध बनाउने अठोट लिने हो भने यस नगरमा कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य छ भन्ने बुझ्नु पर्छ ।
कृषिका लागि साविकका पृथ्वीनगर, महेशपुर र चन्द्रगढी उर्वर भूमि हुन् । पर्यटनका लागि किच्चक बध, कमलधाप, चन्द्रगढ महत्वपूर्ण गन्तव्य स्थल बन्न सक्छन् । औद्योगीकरणका लागि चिया, चामल, प्लाइउड उद्योग यस नगरका प्रमुख उत्पादनका क्षेत्र हुन् । यी तीन क्षेत्रको विकास, विस्तार र संरक्षण गर्न सके मात्र नगरले समृद्धिको बाटो पाउने छ । नगरको विकासका लागि जनप्रतिनिधिहरू अलमल परेका हुन् कि भन्ने नगरबासी भित्र आशंका पसेको छ । नेतृत्व लिएको एक वर्ष पुगिसक्दा पनि जनप्रतिनिधिले जनअपेक्षा अनुरूप काम गर्न नसकेको घटनाले शंका निम्तिएको हो । सामान्य नगरिक पनि नगरपालिकाले आफ्नो सवलताका बाटाहरूमा चासो नदिएकोले गुनासो बोकीरहेका छन् ।
झापाको सदरमुकाम समेत रहेको पूर्वी दक्षिणी क्षेत्र भद्रपुर नगर आफैंमा उर्वर भूमि हो । यस नगरमा रहेको पूर्वको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल किचकवध पहिचानविहिन बन्दै गइरहेको छ । धार्मिक एकताको प्रतिक कमलधाप छाँयामा परिरहेको छ । ऐतिहासिक स्थल चन्द्रगढ परिचय नपाइ रहेको छ । यी तीन वटा क्षेत्रको विकास मात्र गर्ने हो भने नगरमा लाखौं पर्यटक भित्रने छन् । विगतमा नगरको विकासमा केही भएन भनेर नयाँ जनमतका साथ नयाँ अनुहार रोजेका नगरबासीले अहिले पनि केही परिवर्तन नहुने रहेछ भनेर निराश बन्नु पर्यो भने विडम्वना हुने छ ।
जातीय विविधता र धार्मिक एकताको प्रतिकका रूपमा रहेको कमलधापले पनि उचित पहिचान नपाउँदा गाइ बाख्राको चरण स्थल बन्दै गइरहेको छ । मठ, मन्दिर, गुम्बाले सजिएको यो क्षेत्रको संरक्षण गर्दै प्रचारप्रसार गरी पहिचान दिलाउन नसकिदा छाँयामा परेको प्रष्ट छ । मौवा कालिन राज्यको इतिहास बोकेको चन्द्रगढको पहिचान त झन कता हरायो ? भन्ने अवस्थामा छ । यतातिर नगर प्रशासनको नजर नपरेको अनुभूति नगरबासीमा छ ।
कृषि विकासको कुरा गर्दा अनुदान छर्ने प्रवृत्तिलाई उपलब्धी मान्ने कागजी अभियान पहिलो बाधक हो । कृषि कर्मका मानिस होइन आफ्ना आसेपासे अनुदानका हकदार बन्ने प्रवृत्तिले कृषि पछाडि परिरहेको छ । आफैंले लगानी गरेर उत्पादन गर्ने कृषकहरू आफ्ना उत्पादनले मूल्य नपाउँदा पेशा परिवर्तन गर्न बाध्य छन् भन्ने नगर प्रशासनले बुझ्न सकिरहेको छैन । उत्पादनले सहज वजार पाउने वातावरण मात्र नगरले बनाइ दिने हो भने कृषिमा नगर निर्यातमुखी बन्न सक्छ । चियाको पकेट क्षेत्र भित्र पर्ने यस नगरले किसान, मजदुर र उद्योगी बीच मिलन बिन्दु खोजिदिएर आद्योगीकरणको वातावरण बनाउन सकिरहेको छैन ।
धान, प्लाइउड जस्ता उद्योगले पनि गतिलिएर काम गर्न सकिरहेका छैनन् । तल्लो तहको पहिलो सरकार नगर प्रशासनको ध्यान यी तीन पक्षको विकासमा गए समृद्धि सपनाको कुरा नभएर विपनाको आधार बन्न सक्छ । निर्वाचनका बेला विकासका चिप्ला कुरा गर्ने अनि निर्वाचित भएपछि विकासका लागि योजनाबद्ध काम गर्न नसक्ने नेतृत्वको निरन्तरताले गर्दा नै भद्रपुरले अपेक्षाकृत विकासको अवसर पाएन भन्नु पर्ने अवस्था छ । हिजोका नेतृत्वले जे गरे त्यसले भद्रपुरको समृद्धि दिन सकेन अबको नेतृत्वले विगतको अफलतालाई पाठ मानेर नयाँ सोचका साथ अगाडि बढे मात्र भद्रपुरले समृद्धिको लक्ष्य हाँसिल गर्न सक्ला ।