चार दशकयता सडक किनारमा श्रममा रमाइरहेका लक्ष्मीप्रसाद

द्रोण अधिकारी

भद्रपुर । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइ रहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८ वर्ष) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् ।

अहिलेसम्म आफ्नो घर नभएका अर्काको घरमा भाडातिरेर बस्ने गरेका दाहाल छोराको कमाइले मात्र घर चल्न नसकेपछि आफैं श्रम गरेर नून तेलको जोहो गर्न ४१ वर्षयता निरन्तर दाम्ला डोरी बाटेर त्यसलाई बिक्री गर्दा आउने पैसाले जीवनयापन गरिरहेका हुन् ।

पूर्व—पश्चिम राजमार्गको लक्ष्मीपुर चौकमा दैनिक दाम्ला डोरी बाटिरहेको भेटिने दाहालले जीवनयापनका लागि यही कार्यलाई पेशा बनाएको पनि एकचालीस वर्ष पूरा भइसकेको छ । घाम—पानी, जाडो—गर्मी सहेरै सडक किनारलाई कर्मथलो बनाएका दाहाल आफूलाई बाँचुञ्जेल कर्मशील बनाउन चाहन्छन् । छोराले काम छोडेर आराम गर्न सुझाव दिने गरे पनि उनीहरूको कमाइले मात्र गाँस र बासको व्यवस्थापन सहज नहुने अवस्थाकै कारण सडक किनारमा श्रम पसिना बगाइरहेको बताउँछन् ।

सरकारले दिने बृद्धभत्ताले मुस्किलले दाल—चामको व्यवस्था गर्न सके पनि नून—तेल र तरकारीको जोहो गर्न दाम्ला डोरी बाट्नु पर्ने बाध्यता सुनाउँदै दाहालले ४० रूपैयादेखि ६० रूपैयासम्ममा बेचेका दाम्ला र डोरीबाट आउने पैसाले जीवन चलिरहेको बताए । जीवनको उत्तराद्धमा पनि निरन्तर काम गरिरहेका दाहाल रहरले भन्दा बाध्यताले श्रमशील हुनु पर्ने अनुभव सुनाउँछन् । उनी अर्काले दिन्छ र खाउँला भन्ने आशे जीवनबाट मुक्त हुन पनि दैनिक श्रम गरिरहेको प्रष्ट पार्छन् । उनी भन्छन्—“मेरो जीवन त उत्तराद्र्धमा पुगेको छ तर मन बाँचुञ्जे निरन्तर श्रममा विश्वास गर भन्छ । त्यसैले श्रम गरिरहेको छु ।”

उनको निरन्तरको परिश्रम देख्नेहरूले नै दाम्ला डोरी किनेर लाने गरेको स्थानीय बताउँछन् । पुराना कपडा संकलन गरेर दाम्ला डोरी बनाउने दाहाललाई आफ्नो पेशाप्रति निकै गौरव महशुस हुने गर्छ । यही पेशाबाट अहिलेसम्म जीवनको गति सहज भइरहेको बताउने उनी काम ठूलो र सानो नहुने प्रष्ट पर्छन् । काम गरेर खानु माहानता हो ढाँटेर, छलेर वा मागेर खानुचाहिँ नपरोस् भन्ने भावना बोकेका दाहाल बाँचुञ्जेल यही पेशा गरिरहने बताउँछन् ।

सडक किनारमा घाम—पानी सहेरै पेशालाई चार दशक पार गराएका दाहाल कर्मशील हातहरूका लागि श्रद्धा गर्न लायक श्रमजीवि मान्न सकिन्छ । शरीरले बुढ्यौली देखाए पनि जोस र श्रमले नवजवान जस्तै रहेका दाहाल गरिखानेका लागि उदाहरणीय व्यक्तित्व हुन् ।