प्रेस क्लबले निर्वाचित कार्य समितिलाई सम्मान गर्यो
भद्रपुर । प्रेस क्लब भद्रपुरले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई स्वागत सम्मान सहित बधाई शुभकामना दिएको छ ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान सहित बधाई ज्ञापन गरिएको हो ।
क्लबका पूर्व अध्यक्ष गोपाल गिरीले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले शुभकामना मन्तव्य राख्दै पत्रकारिता पेशाको गौरव बचाउन समिति सफल हुने विश्वास व्यक्त गरेका थिए भने नवनिर्वाचित कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी तथा झापा अध्यक्ष एकराज गिरीले प्रतिबद्धता मन्तव्य राख्दै सञ्चार जगतका समस्यासित जुध्दै व्यवसायिक वातावरण निर्माण गरेर निष्पक्ष पत्रकारिताको स्वरूप बनाउन लागि पर्ने धारणा राखेका थिए ।