डाइनामिक ग्रुपले सम्झियो नारायण गोपाल

भद्रपुर । डाइनामिक ग्रुप नेपालले भद्रपुरमा स्वर सम्राट नारायण गोपाललाई सम्झना गर्दै बृहद साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रुपमा आबद्ध रहेका राष्ट्रिय तथा स्थानीय गायक, गायिकाहरूले नारायण गोपालका कालजयी गीतहरू गाएर साँगीतिक साँझ सम्पन्न गरेका हुन् ।

ग्रुपका अध्यक्ष तथा गायक संगीतकार अर्जुन खरेलको अध्यक्षतामा सम्पन्न साँगीतिक साँझको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए ।

साँगीतिक साँझमा अनिता पौडेल, अकिला कुमार झा, युनिक पाण्डे, ज्योति खाती, सिमरन आचार्य, वेदप्रकाश घिमिरे, उमेश पाण्डे, आयुष्मा घिमिरे लगायत स्थानीय गायक गायिकादेखि अर्जुन खरेल, गोविन्द रपभल लगायतले नारायण गोपालका गीत गाएर श्रोतालाई सुनाएका थिए भने मानवीय सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटण्डन डा. रामबाबु खड्कालाई सम्मान समेत गरिएको थियो ।

कृति राई र चन्द्रमणि पौडेलले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतले मन्तव्य राख्दै गीत संगीतको माध्यमबाट राष्ट्रको सेवा गरेर पहिचान बनाएका नारायण गोपाल जस्ता स्रष्टाको सम्मानले गौरव बढाउने धारणा राखेका थिए ।