स्पोर्टस् सुज र छालाको बेल्टसहित सवारीसाधन नियन्त्रणमा
भद्रपुर । सशस्त्र प्रहरी बलले साढे ११ लाख बढीको स्पोर्टस् सुज र छालाको बेल्टसहित एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरले भद्रपुर नगरपालिका ८ हडिया चिया बगान इलाकामा सवारीसाधनसहित ११ लाख ७१ हजार १ सय बराबरको अवैध स्पोर्टस् सुज र छालाको बेल्ट बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर–५ भन्सार चोकमा डब्लुबी ५२ जी ९४१८ नम्बरको भारतीय सुजुकी कारलाई शंका लागेर रोक्ने संकेत गर्दा नरोकी भाग्ने क्रममा उक्त कारलाई पिछा गर्दा भद्रपुर–८ स्थित हडिया चिया बगानमा कार छाडी चालक फरार भएका थिए । कारलाई चेकजाँच गर्दा उक्त कारमा फल्स होल बनाई लुकाएको अवस्थामा ६० जोर फुटबल सुज, ४० थान छालाको बेल्ट र लाईटर बरामद भएको थियो ।
बरामद गरिएको सामान तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट सशस्त्र प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर झापाका सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन १ देखि मंसिर २७ गतेसम्म ५ करोड ८५ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिसकेको रसाईलीले जानकारी दिए। उनका अनुसार साउनमा १ करोड २८ लाख २६ हजार ४३ रुपैयाँ, भदौमा १ करोड ३८ लाख ५३ हजार ३ सय ३ रुपैयाँ, आश्विनमा ८७ लाख ६८ हजार ८ सय ८० रुपैयाँ, कात्तिकमा १ करोड ४ लाख ८६ हजार २ सय ७ रुपैयाँ र मंसिर महिनाको २७ गतेसम्म १ करोड २४ लाख ८८ हजार ४ सय ५७ रुपैयाँबराबरको सामान बरामद भएको छ ।
‘सूचनाको आधारमा र नियमित चेकजाँच गर्दा भन्सार छलेर ल्याउँदै गरेको सामान भेटिएको हो । मुख्य भन्सार नाकाबाट पनि ल्याउँछन् ’ उनले भने, ‘कतिपयले गाडीमा लुकाएर, केहीले शरीरमा लुकाएर ल्याउँछन्, कतिले हाम्रो आँखा छलेर अघि बढिसक्दा समेत भित्री इलाकासम्म पुगेर नियन्त्रणमा लिएका छौं ।’मुल भन्सार कार्यालयको सुरक्षा तथा चोरी तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले झापाका बिभिन्न स्थानमा नियमित चेकजाँच गर्ने गरेको छ भने मोबाइल टोली परिचालन गरेर रात्री गस्तीसमेत गर्ने गरेको छ।