भक्का खानेको भीड लाग्दा मौषमी व्यपार बढ्दै
भद्रपुर । पूर्वी तराईको विशेष परिकारका रूपमा परिचित भक्का खानेको भीड चिसो मौसम सुरु भएसँगै सडक किनार तथा बजार आसपास प्रशस्त देखिन थालेको छ ।
झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकारको पहिचान रहेको भक्का जाडो बढेसंगै अधिकांश चोक बजारमा खानेको भीड लाग्न थालेको हो ।
कुनै रसायन नमिसाइकन धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरूले यसैलाई विहान र साँझको खाजाको रूपमा प्रयोग गर्ने गरेका छन् ।
आदिवासी समुदायका महिलाहरूले बिहान झिसमिसेदेखि नै राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरूमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ भने भक्का बनाउने महिलाहरूको मौषमी व्यापारका रूपमा आयआर्जनको माध्यम बन्ने गरेको छ ।
पूर्वी तराईको लोकप्रिय खाजाको रूपमा रहेको भक्का बिगतमा राजवंशी समुदायका महिलाहरूले मात्र बनाउने गर्दथे भने अचेल अन्य समुदायका महिलाले पनि मौषमी व्यापार हुन थालेपछि पकाएर बेच्न थालेका छन् । यसको माग बढेपछि मेचे, धिमाल, ताजपुरिया र थारू लगायतका महिलाहरूले समेत भाक्का बनाउन थालेका छन् । यसले राष्ट्रिय स्तरमा पहिचान पाइसकेका कारण प्रत्येक वर्ष पुस २९ गते झापामा आठ वर्षदेखि निरन्तर भाक्का दिवस मनाउन थालिएको छ । आदिवासी राजवंशी समुदायले आफ्नो मौलिक पहिचानका रूपमा भक्का दिवस मनाउन थालिएपछि यसको व्यापार अझ बढेर गएको व्यवसाय गरिरहेका महिलाहरू बताउने गर्छन् ।
भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा कपडाले बेरेर बाफमा केहिबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का स्वादिलो हुने कारण सवै समुदाय र वर्गका मानिस यस परिकारलाई रूचाएर खाने गर्छन् । परम्परागत रूपमा राजवंशी समुदायको मौलिक खानेकुरा भक्का भनिए पनि यसको पहिचानको क्षेत्र बढेसंगै सबै समुदायको साझा परिकार हुँदै जाँदा मौषमी व्यपार समेत बढ्ने गरेको छ ।