आहाराको खोजीमा हात्ती दिउँसै गाउँ पस्न थाले
भद्रपुर । आहाराको खोजीमा रातिमात्र गाउँ बस्ती डुल्ने हात्ती झापाका बस्ती तथा खेत बारीमा दिउँसै चरिचरणका लागि पस्न थालेका छन् ।
अन्न पाक्ने समयमा विभिन्न झुण्डमा झापामा रहेका रैथाने तथा भारतीय पाहुना जंगली हात्ती हुल बाँधेर राती गाउँ बस्ती तथा अन्न बाली क्षेत्रमा पस्ने गरेका भए पनि पछिल्लो समय हात्तीले चरण शैली बदल्दै दिउँसै बस्ती आसपास पस्न थालेका हुन् ।
पछिल्लो पटक बुधबार (२८ कात्तिक) पिहान ९ वजेतिर भद्रपुर नगरपालिका–९ को मिलचोक बस्ती आसपास रहेको धान खेतमा दुई वटा हात्ती निस्किएर निर्वाध चरिरहेको दृष्यले स्थानीयमा समेत आश्चर्य र त्रास फैलन गयो । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन कुदिरहेको दृष्य कैद गरेका फोटो पत्रकार दिपेन्द्र कटुपालका अनुसार पहिलो पटक धान खेतमा हात्ती दिउँसै चर्न आएको दृष्य देखिएको हो ।
हात्तीका कारण त्यहाँ मानवीय क्षति नभए पनि स्थानीयको पाकेको धानबालीमा क्षति पुगेको छ । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना थिएन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मानेका छन् ।
मानिसहरु आ–आफ्नो काममा थिए । स्थानीय बासिन्दा समेत रहेका पत्रकार दिपेन्द्र कटुवाल भनाइमा, ‘हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।’ नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो । त्यही धान खाएर हात्ती निचाझोडा जङ्गलतिर गएका थिए ।
झापामा तीन दर्जन हाराहारी हात्तीले स्थानीय जङ्गलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जङ्गल, मध्यभागस्थित निचाझोडा जङ्गल र उत्तरतिरको चुरेभावर जङ्गलमा हात्ती बस्ने गर्छन् ।
उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन् । १५ स्थानीय तहमा हात्तीले नडुलेको कुनै वडा छैन । प्रायः जङ्गली हात्तीहरु दिउँसो जङ्गलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको अवस्था दिउँसो चरणमा हात्ती आउनु हो ।