झापामा ट्राफिक व्यवस्थापनभन्दा कमाउने अभियानमा ट्राफिक प्रहरी लागेको आरोप

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा मातहतका ट्राफिक प्रहरीका पोष्टका अधिकाम्स नेतृत्वकर्ता जिम्मेवारी बिर्सिएर रकम कमाउने अभियानमा रहेको आरोप लाग्न थालेको छ ।

ट्राफिक नियम बिपरित चल्लने सवारी साधनलाई कारवाही गर्नु पर्ने जिम्मा पाएका अधिकाम्स ट्राफिक पोष्टका प्रमुखहरू कारवाही कम र रकम असुली बढी गरिरहेको यात्रुहरूले आरोप लागाउन थालेका हुन् ।

ट्राफिक प्रहरी प्रमुखलाई बुझाउनुपर्ने भन्दै मासिक काँकरभिट्टा बिटबाट २५ हजार, चारआली बिटबाट २० हजार, बिर्तामोडको नयाँ बसपार्कबाट १५ हजार रुपैयाँ, बुधबारे बिटबाट ३० हजार, सुरुङ्गा बिटबाट २० हजार, केर्खा बिटबाट १५ हजार, दमकबाट १५ हजार, गौरादह बिटबाट १५ हजार रुपैयाँका दरले रकम हरेक महिना जिल्लाबाट आउने सहायक हवल्दार विष्णु बजगाईँ र वरिष्ठ सई अर्जुन सोडारीलाईे दिनु पर्ने भनेर ट्राफिक पोष्टबाट रकम असुली भइरहेको स्वयम यातायात व्यवसायी बताउने गर्छन् ।

ट्राफिक बिटहरूले अबैधबाटोबाट उठाएको रकम सवारी साधनवालाहरूसँगै असुलेर जिल्लामा पठाउने गरेको भने पनि उठेको केही रकम घुमुवालाई दिएर आफैं कुम्ल्याउने गरेका छन् ।

त्यस्तै झापाका सडकमा दैनिक कुद्ने ट्याक्टर, ट्रिपरलाई ओभर लोड गरेको, भारी नछोपेको बाहानमा दैनिक १ हजार जरिमाना गर्ने गरेका छन् । तर मासिक पैसा बुझाउने सर्त गरेमा जे गर्दा पनि छुट दिने गरेको एक ट्रिपर व्यवसायीले बताए । उनका अनुसार ट्याक्टर र ट्रिपरले मासिक ५ हजार रुपैयाँ ट्राफिकलाई बुझाएपछि केही मतलब हुँदैन । जसले रकम दिन मान्दैन त्यो कारवाहीको निशानामा पर्ने गरेको भुक्तभोगी चालकहरूको भनाइ छ ।

मासिक पैसा बुझाएपछि ट्राफिकले त्यस्ता सार्वजनिक सवारी साधनलाई मनपरी गर्न दिइने गरेको छ । सोही अनुरूप त्यस्ता सवारीसाधनले झापाका सडकमा ओभर लोड, ओभर स्पिड कुदाउने, जथाभाबी यात्रु चढाउने र ओराल्ने गर्दै ट्राफिक नियम मिचिरहेको देख्ने गरिएको छ ।
सडक दुर्घटनाको पछिल्लो विवरण हेर्दा पनि झापामा दशैंको अवधिमा मात्र ७६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा ६ जना पुरुषसहित एक महिला गरी सात जनाले ज्यान पनि गुमाए ।

तथ्याङ्कले गत वर्षभन्दा यस पटक दुर्घटना बढेको देखाउँछ । राजमार्गमा गुड्ने बसले कसैलाई ठक्कर दिँदा जवरजस्ती घिसारेर ज्यान लिने प्रबृत्ति पनि बढ्दै छ । दुर्घटनामा परेका यात्रुको मृत्यु वा अंगभंग भए कानुनी कारवाहीमा जाँदा ट्राफिक प्रहरीकै स्थलगत पहिलो मुचुल्का प्रमाण हुन्छ तर व्यवसायीबाट रकम असुलेर कमजोर मुद्धा बनाउन पनि ट्राफिक प्रहरी नै लाग्ने गरेको पीडित गुनासो गर्ने गर्छन् । दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने ट्राफिक प्रहरी रकम असुलिमा रहँदा समस्या बढेको यात्रुहरूको आरोप छ ।

ट्राफिक प्रहरी कार्यालय झापा मातहतमा पूर्व पश्चिम राजमार्ग सुरक्षाका लागि मात्र १६ वटा ट्राफिक पोष्ट परिचालन गरिएको छ । यी पोष्टमा प्रहरी सहायक निरीक्षक वा नायव निरीक्षकको नेतृत्वमा ३ देखि ५ जनासम्म ट्राफिक प्रहरी र सोही हाराहारीमा नेपाल प्रहरीका जनशक्ति परिचालिन भइरहेका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रु ठग्ने, झुक्याउने, अप्ठ्यारोमा पारेर छोड्ने सार्वजनिक यातायातका साधनहरूमाथि अधिकतम सजाय हुनु पर्नेमा ट्राफिक प्रहरीले सामान्य कारवाही गरेर छोड्दै त्यस्ता सार्वजनिक सवारीका साधनबाट व्यक्तिगत फाइदा समेत उठाउने गरेका छन् ।