भद्रपुर नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ उत्कृष्ट पालिकाघोषित

भद्रपुर । कोशी प्रदेश अन्तरगत भद्रपुर नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ उत्कृष्ट पालिकाघोषित गर्दै सम्मान गरेको छ ।   उत्कृष्ट पालिकामा छनौट भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भद्रपुर नगरपालिकालाई सम्मानपत्र प्रदान गरेको छ । मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले नगरपालिकालाई सम्मान पत्र तथा भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेलाई कदर पत्र प्रदान गरेको छ । सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमका राष्ट्रिय निर्देशक सहसचिव डण्डुराज घिमिरे, उपसचिव वसन्त बोहोरा, शाखा अधिकृत पंकजलाभ कर्णसहित १३७ स्थानीय तहका रोजगार संयोजकहरूको उपस्थिति रहेको थियो  ।

नगरपालिमा शनिबार बसेको कार्यपालिका बैठकमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, निमित्त प्रमुख प्रशासकीय प्रमुख शान्तिराम भट्टराई, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा रोजगार संयोजक पाण्डेबाट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नगरको समृद्धि र विकास, नगरका श्रमिकको श्रम र पसिनाको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले नगरपालिकालाई गरेको यो सम्मानले थप ऊर्जा मिलेको नगर प्रमुख पोखरेलले बताए ।  नगरका श्रमिकहरूलाई न्यूनतम रोजगारी प्रदान गर्दै दिगो प्रतिफल दिने पूर्वाधार विकासका योजनाहरूमा दक्ष जनशक्ति तथा निर्माण सामाग्रीमा लागत साझेदारी गरी कार्यक्रमलाई थप व्यवस्थित तथा अनुसरण गर्न लायक बनाउने उनको भनाई छ ।

मन्त्रालयले भद्रपुर नगरपालिका र रोजगार संयोजक पाण्डेलाई रोजगार संयोजकको पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन २५ प्रतिशत, कार्यक्रमको सम्बन्धित पालिकाको वित्तीय प्रगति विवरण २५ प्रतिशत, औसत रोजगारीको दिन सङ्ख्या २५ प्रतिशत र स्थानीय तहबाट गरिएको लागत साझेदारी २५ प्रतिशत गरी जम्मा चार वटा सूचकहरूका आधारमा छनोट गरेको थियो ।  २०७५ साल फाल्गुणबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगार सेवा केन्द्रहरूले आन्तरिक रोजगारी सृजना तथा व्यवस्थापनमा अतुलनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी गरिएको एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० बमोजिम आन्तरिक तथा वैदेशिक रोजगारीका क्षेत्रमा रोजगारको श्रम स्वीकृति सहजीकरण,  परामर्श ,उद्धमशिलता विकास, सिप विकास, तालिम, सामाजिक सुरक्षा, बालश्रम निवारण, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रवाह गरिने ९ वटा सेवाहरू लगायतका कार्यहरू प्रभावकारी रुपमा सम्पादन गर्दै आएका छन् ।