डेडदशकयता अलपत्र भवनमै कष्ट सहेर पढ्छन् विद्यार्थी

द्रोण अधिकारी
भद्रपुर । काठका साँघुरा कोठा भए पनि घाम पानीबाट ओत लागेर सहज पठनपाठन गरिरहेको अरनिको माध्यमिक विद्यालय भद्रपुर ३ ले १४ वर्षयता सुविधा सम्पन्न भवनको आशमा कष्ठकर पठनपाठन गरिहेको छ ।
भारतीय दुतावासको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन बन्ने आश देखाइएपछि २०६७ सालमा काठेभवन हटाएर पक्की भवन निर्माण थालिएको विद्यालय निर्माण अलपत्र पर्दा कष्टकर पठनपाठन गरिरहेको हो ।
२०६७ सालबाट निर्माण थालिएको विद्यालय भवन १४ वर्ष पार गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवन मै कष्टकर पठनपाठन भइरहेको दृष्यले बालमैत्री भद्रपुर नगर सरकारलाई गिज्याइरहेको आभाष गराउँछ ।
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन भद्रपुर ३ स्थित सूर्यनगरमा रहेकोअरनिको माध्यमिक विद्यालयको भवन वर्षौयता अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएपछि अधुरो विद्यालय भवनमै पठनपाठन भइरहादा भवन निर्माण पूरा गराउने दायित्व समेत नलिएको भद्रपुर नगर सरकारलाई त्यहाँ पुग्ने जो केहीले अलपत्र भवनले गिज्याइ रहेको अनुभव गर्ने अवस्था छ ।
अधुरो विद्यालय भवनमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण बन्न नसक्दा समस्या भइरहेको अध्ययनरत छात्रछात्रा दुखेसो पोख्ने गर्दछन् ।
भवन नबन्ने निश्चित भएपछि कष्ट सहेर पढिरहेका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीले जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई लगायत जिम्मेवार निकायमा पटक पटक धर्ना दिँदै समस्या समाधानका लागि दवाव समेत दिएका थिए ।
साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । ३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहिन बनेको पनि वर्षौ भयो । तत्कालिन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माणको स्वामित्व स्थानीय सरकारसित आए पनि स्वामित्व पाएको भद्रपुर सरकार नै बेखवर जस्तै बन्दा एक दशकयता सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट सो विद्यालयमा अध्ययनरत विद्यार्थी बञ्चित भएको गुनासो पोख्ने गरेका छन् । भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् ।
विस २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारत सरकार तथा भारतीय राजदूतावसले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियोृ । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले जानकारी दिए । प्रधानाध्यापक खरेलले भने, ‘ठेकेदारले भवन निर्माण कार्यमा सुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षा कोठामै सर्न बाध्य भयौँ।’ भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । स्थानीय तहले विद्यालय लिने आधार तयार नभएकोले नलिएको जानकारी दिँदै प्रअ खरेलले भवन निर्माणका वील भरपाइहरू कागजपत्र अधुरो रहेको बताउँछन् । समय गुज्रिएपछि म्याद थप नभएको जनाउँदै खरेलले २०७४ साल देखि १४÷१५ लाख रकम भुक्तानी नभएको प्रष्ट पारेका छन् ।
ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको अध्ययनरत विद्यार्थीको गुनासो छ । उनीहरूका अनुसार ‘ विद्यालय भित्र पढ्न सारै समस्या छ, कक्षा कोठामा झ्याल ढोका छैनन्, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन । सुरक्षित विद्यालय भवनबाट पठनपाठन गर्न पाउने अधिकारविहिन हुनु परेको विद्यार्थीहरूको दुखेसो छ ।
अघिल्लो नगर नेतृत्वले समस्या हलमा चासो नदिएपछि पछिल्लो पटक विजयी नेतृत्वसित विद्यालय बनाइ दिने आशा पालेका विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारी निराश भएका छन् । नयाँ भवन निर्माणको माग पनि गर्न नपाउने, निर्माणाधीन अधुरो भवनमा पठन पाठन गर्न पनि जोखिम बढेपछि विद्यालय प्रशासनले समस्या हल गर्न जिसस, शिक्षा विकास समन्वय इकाइ र नगर सरकारका कार्यालय परिसर घेराउ गर्न बाध्य भएको दुखेसो उनीहरूको छ ।
विद्यालय भवन नबन्नुमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीचको राजनीतिक प्रतिशोत रहेको समेत स्थानीयको आरोप छ । सिटौलाले जितिरहेको क्षेत्रमा लिङ्देनले जित हात पारेपछि हार्नेले शक्तिमा हुँदा हारको बदलाभाव लिने अनि जित्नेले जितिसकेपछि आफ्नो योजना नभएको भन्दै अगाडि जान नदिने राजनीतिक चालावाजीको चपेटामा पर्दा विद्यालय भवन अलपत्र परेको हो ।
पूर्वाधार अभावले पठनपाठन प्रभावित हुने गरेको विद्यार्थी तथा अभिभावकको गुनासो छ । जाडोमा चिसोले पढ्न कठिन, गर्मीमा घाम, पानी र हुण्डरीको सामना गर्दै डेढ दशक बित्यो सहज रूपमा पढ्ने विद्यालय बन्न सकेन भन्दै विद्यार्थीले दुखेसो पोखिरहेका छन् ।