लोक गायक एलपी जोशीको निधन

भद्रपुर । नेपालकै ख्यातिप्राप्त लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को विहीवार राति दमकमा निधन भएको छ ।
उनको ८८ वर्षको उमेरमा विहीवार राति ८.३० बजे दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात बिरामी परेर निधन भएको जनाइएको छ । उनका निकट रहेका कवि धनकुटे कान्छाका अनुसार दमकस्थित घरमा रहेका जोशी बेलुकीको खाना खाएपछि अकस्मात बेहोस भएका थिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
७ जना दाजुभाइ रहेका जोशी छैटौं सन्तानका रूपमा जन्मिएका थिए भने ५ दिदीबहिनी रहेको उनका कान्छा भाइ नारायण जोशीले जानकारी दिए । बाल्यकालदेखि नै गीतसंगीत र फुटबल खेलका सौखिन उनी जीवनपर्यन्त लोकगायनमा रहेका थिए । ‘संस्कृतिको लागि देशमा योगदान गर्नुभयो,’ भाइ नारायणले भने, ‘डेढ महिना पहिले भारतको इन्डियन युनिभर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो ।’ उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए । लोकगीत सम्राटको उपाधिसमेत पाएको नारायणले सुनाए ।
उनका ‘कान्छी मट्याङट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’ जस्ता गीतहरु धेरै लोकप्रिय छन्। उनलाई बहुमुखी प्रतिभाका धनी व्यक्ति भनेर चिन्न सकिन्छ । उनी एक कुशल चित्रकार पनि थिए । उनका “रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो” लगायत धेरै लोकप्रिय गीत रहेका छन् ।
जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गर्छन् । उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । उनी छोरा मिलन र परिवारका सदस्यका साथ दमकमा बस्दै आएका थिए ।