वैदिक समाज झापाको १६ औं सभा सम्पन्न
भद्रपुर । चन्द्रगढी स्थित वैदिक समाज झापा भद्रपुर १० चन्द्रगढीको १६ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
समाजकी अध्यक्ष मिरादेवी पौडेलको अध्यक्षता तथा सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
संस्थाको वार्षिक गतिविधि सचिव द्रोण अधिकारीले प्रस्तुत गर्दै समाज परिवर्तनका लागि सञ्चालनमा रहेका जागर कार्यक्रम निरन्तर अगाडि बढाउने कार्योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता राजु वराल, रेवतीराज घिमिरे, अनुप बस्नेत लगायतले मन्तव्य राख्दै संस्थाको मूल उद्देश्यसित गाँसिएको प्राचीन ग्रन्थ वेदको अध्ययन अध्यापन कार्य निरन्तर अगाडि बढाउनु पर्ने धारणा राखेका थिए ।
झापाको सदरमुकाम चन्द्रगढीलाई केन्द्र बनाएर २०६२ साल साउन १ गते साविकको चन्द्रगढी ६ मा कार्यालय रहने गरी स्थापना भएको संस्थाको जिल्ला प्रशासन कार्यालय झापामा दर्ता २०६६ सालमा गरिएको हो ।
धर्म र परम्पराका नाममा समाजभित्र गाडिएर बसेका रूढीवाद बिरूद्ध सशक्त प्रतिकार गर्दै सत्य दर्शन वेदको ज्ञानमा विश्वास गर्नु, गराउनु यस संस्थाको सामाजिक दायित्व रहेको छ । वेदभन्दा प्राचीन ज्ञानको अन्य श्रोत कुनै ग्रन्थले प्रमाणित गर्न सकेका छैनन् । त्यही सत्य विद्याको अध्ययनलाई मूल लक्ष्य बनाएको संस्थाले हरेक शनिवार विहान २ घण्टा बालबालिकालाई वेद विद्याको अध्ययनका लागि समयको लगानी गरिरहेको छ ।