एस ई ई २०८० मा भद्रपुरका २८ विद्यालय मध्ये दुई वटाको नतिजा सुन्य

भद्रपुर । माध्यमिक तह उत्तीर्ण कक्षा १० को परीक्षाफलको विवरण अनुसार भद्रपुरको शैक्षिक स्तर सामान्य देखिएको छ । ३० वटा माध्यमिक विद्यालय रहेको भद्रपुरमा एस ई ई परीक्षा २०८० मा २८ वटा विद्यालयले सहभागिता जनाएकोमा २ वटा विद्यालयको उत्तीर्ण दर सुन्य छ भने अन्य विद्यालयले न्युनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशतसम्म उत्तीर्ण गराएको पाइन्छ ।

उत्तीर्ण प्रतिशतमा सामुदायिकभन्दा संस्थागत विद्यालय नै अब्बल देखिएको भद्रपुरमा ९०.९१ प्रतिशत उत्तीर्ण दर प्राप्त गर्दै भद्रपुर २ को ज्ञान सरोवार निकेतन प्रथम, ६८.५२ प्रतिशत सहित भद्रपुर ७ को एमरेल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो स्थान लिएको नतिजाले देखाउँछ । उत्तीर्ण दर १.६४ कायम राख्दै भद्रपुर मावि अन्तिम स्थानमा देखिन्छ भने अनुत्तीर्ण विद्यार्थी संख्या हुने विद्यालयमा भद्रपुर ६ को मोर्डन अंग्रेजी माध्यमिक विद्यालय र भद्रपुर १० मा रहेको सेन्ट कुजुर एकेडेमी रहेका छन् । यी दुवै विद्यालय निजी लगानीका संस्थागत विद्यालय भए पनि परीक्षाफल परिणामले कम्जोर सावित भएको देखिन्छ ।