विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा परिसंवाद कार्यक्रममा सर्जक तथा समालोचकहरूको धारणा
भद्रपुर । वीपी स्मृति प्रतिष्ठानको आयोजना तथा कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आसर ८ गते एक दिने साहित्य, कला र संस्कृतिक चर्चा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपाली साहित्य र झापाली सर्जक साहित्य खण्डमा विभक्त परिसंवाद कार्यक्रममा सर्जक तथा समालोचकहरूको विचार जस्ताको त्यस्तै राखिएको छ ।
दोश्रो खण्ड ः सहजीकरण प्राज्ञ विवस पोखरेल ( सर्जक, समालोचक) २०८१—०३—०८ जिसस भवन चन्द्रगढी
शीर्षक ः नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला
प्रा. कविराज न्यौपाने
नेपाली साहित्यको विकासमा नव प्रर्वतक भएकै कारण साहित्यको इतिहासमा कहीँ कतै नछुट्ने नाम रहन गएको, साहित्य सिर्जनाकै कारण नेपाली भाषा साहित्यमा महान व्यक्तिको परिचय बनाएको
प्राज्ञ मुनाराज शेर्मा
साहित्यको जगतमा भौतिकवाद, मानवतावाद, चेतनावाद र यौन मनोविश्लेषणात्मक प्रयोजनपरक आख्यानकार रहेको
लेखनाथ भट्टराई
अराजकतावाद मनपराउने सर्जक, मनोवैज्ञानिक विचार साहित्यमा प्रवेश गराउने प्रयोगवादी सर्जक, मानव अस्तित्व स्वीकार गर्ने तर धार्मिक अन्धभक्त विचार बिरूद्ध विद्रोह गर्ने स्रष्टा, धर्मदर्शन अस्वीकार गर्दै परम्परावादी अन्धविश्वास बिरूद्ध विनिर्माण गरी सुधार गर्ने साहित्यकार रहेको
विश्वेश्वरप्रसाद कोइरालाको अराजकतावाद भनेको के हो ?
प्राज्ञ मुनाराज शेर्मा
विश्वेश्वरप्रसाद कोइरालाको अराजकतावाद भनेको तत्कालीन समय बिपरितका सिर्जना हुन् । साहित्यमा राजनीति प्रवेश गर्नु हुँदैन भन्ने तर व्यवहारमा सिर्जना गरिएका साहित्यिक रचनामा राजनीति प्रवेश गराइ तत्कालीन राज्यसत्तामा विद्रोहको भाव जन्माउनु पनि एउटा अराजकताके नमूना हो । हिन्दू र किराँत समुदायका मूल ग्रन्थका भाव बिरूद्ध पात्र प्रयोग गरी यौन विश्लेषण गर्ने काम पनि अराजकताकै नमूना मान्न सकिने
प्रा. कविराज न्यौपाने
विश्वेश्वरप्रसाद कोइरालाले तत्कालको समयको चित्र जस्ताको त्यस्तै देखाउँदै मानिसमा रहने दोहोरो चरित्रको चित्रण गर्न सक्नु नै अराजकतावाद हो किनकी राजनीतिमा समाजवाद भनिरहेको मानिस साहित्यमा यौनको खुल्ला उपयोगको वकालत गरिरहेको देखिन्छ । ती दुवै कार्य त्यो समाज बिरूद्ध भएका कारण अराजकतावाद हुन पुगेको हो । मनोविज्ञान र विद्रोही भाव समेटेका कथा तथा पात्रहरूकैकारण पनि अराजकता देखिन गएको हो ।
समाज परिवर्तनमा विश्वेश्वरप्रसाद कोइरालाको प्रभाव कस्तो रहन गयो ?
लेखनाथ भट्टराई
विश्वेश्वरप्रसाद कोइरालाले साहित्यको माध्यमबाट नेपाली समाज परिवर्तनमा उल्लेख्य योगदान दिएको, उनका कृतिले सत्ताका विकृत स्वरूप, धर्मग्रन्थ, परम्परागत संस्कार, मूल्यमान्यताका विकृत रूपमाथि ठाडो प्रहार गर्दै समाज रूपान्तरणमा वैचारिक नयाँ गन्तव्य देखाएर सामाजिक मनोविज्ञान चल्दै आएका परम्परा र विश्वासहरू भत्काइएकोले बलियो प्रभाव रहेको
प्राज्ञ मुनाराज शेर्मा
साहित्यमा प्रयोग भएको यौन मनोविज्ञान समाजको यथार्थ चित्रण रहेकोले दरिलो प्रभाव भन्नै पर्छ । उनका सिर्जनाले पहिचान र धर्म संस्कारको खरो बिरोध गरेको कारण आलोचनाको शिकार बन्नु पनि समाजमा प्रभाव छोडेको हो । धम्रग्रन्थभित्रका विकृति अन्त्य गर्न अतियथार्थवादको प्रयोग गरेको सत्य तथ्यलाई सामाजिक प्रभावको परिणाम मान्नु पर्छ ।
प्रा. कविराज न्यौपाने
विश्वेश्वरप्रसाद कोइरालाले तीन घुम्ती, सुम्निमा जस्ता कृतिको माध्यमबाट हिन्दू आदर्श र किराँत बिश्वासमाथि ठाडो प्रश्न उठाउनुलाई सामाजिक प्रभाव मान्नै पर्छ । नयाँ युग अनुकुल समाज चल्न बाध्य बनाउने गरी विषय उठान गर्न सक्नु सामाजिक प्रभाव भए पनि त्यस समाजले अराजकताकै रूपमा हेरेर बसे पनि पहिचानको बिरोधी नरहेको तर कुसंस्कार र कुपरम्पराको भने खरो बिरोधी भएर समाजमा रूपान्तरणको आवश्यकता बोध हुन पुग्नु नै सामाजिक प्रभाव हो ।
विश्वेश्वरप्रसाद कोइरालाले आत्म बृत्तान्तमा केही लुकाएका छन् कि छैनन् ?
प्राज्ञ मुनाराज शेर्मा
विश्वेश्वरप्रसाद कोइरालाले लेखनका क्रममा केही पनि लुकाएको देखिदैन, भेटिदैन । उनको परिवारमै समाजवादी प्रभाव रहेकाले यौन स्वतन्त्रता, भाषिक तथा सामाजिक सम्बन्धमा उदारता भएकै कारण लेखनमा पक्कै केही लुकेको छैन होला ।
लेखनाथ भट्टराई
विश्वेश्वरप्रसाद कोइरालाका कृति पढ्दा, बुझ्दा ढाँट्ने, छल्ने वा लुकाउने काम भएको आभाष हुँदैन ।
प्रा. कविराज न्यौपाने
विश्वेश्वरप्रसाद कोइरालाले आत्मबृत्तान्त लेख्दा सत्य र तथ्यलाई जोड दिएर लेखेका छन् तर पछिल्ला समय विभिन्न नाममा आइरहेका उनका जेल जर्नलहरूमा व्यापार बढाउन चाहनेहरूले अतिरञ्जन थपेर ल्याएको हुन सक्ने शंका गर्न सकिने अवस्था छ । वास्तवमा विश्वेश्वरप्रसाद कोइरालाले लेखनमा आफ्ना केही कुरा लुकाएका भने छैनन् ।
प्रथम खण्ड ः सहजीकरण सर्जक÷पत्रकार लीला अनमोल
शीर्षक ः नेपाली साहित्यमा झापाली सर्जक
डा. रत्नमणि नेपाल (सर्जक)
नेपाली साहित्यमा झापाली श्रष्टा खोजी गर्ने हो भने कृतिगत, व्यक्तिगत र इतिहास सम्बद्ध भएर खोजिनु न्यायोचित हुन्छ । यसका लागि झापाली सर्जकको सिमाङ्कन हुन भने जरूरी छ । लेखनले, सकृयताले, प्रकाशन जस्ता पक्षबाट हेर्दा आफू काठमाण्डौमै भए पनि झापाली सर्जक कै गौरवमा रहने धारणा व्यक्त ।
प्रा.डा. गंगाप्रसाद अधिकारी (समालेचक÷अन्वेषक)
साहित्यलाई भूगोलको बन्धनले रोकिनु हुँदैन । झापाकै मात्र सर्जक श्रष्टा खोज्ने हो भने ३० प्रतिशत हाराहारीमा भेटिन्छन् तर झापालाई कर्मथलो बनाएर अन्यत्रबाट झापा आएका सर्जकको योगदान ६० प्रतिशतभन्दा बढी देखिन्छ । यस्तै झापामा पाहुना जस्तै बाहिरबाट आएर साहित्यिक योगदान दिएर बाहिरै जानेको संख्या पनि उल्लेखनीय देखिन्छ । यस्ता आधारलाई लिने हो भने एउटा भूगोलमा मात्र साहित्य कैद हुन सक्दैन ।
पुण्यप्रसाद खरेल ( लेखक÷समालोचक)
झपामा स्थायी बसोबास गरेर साहित्यिक गतिविधि र सिर्जजना गर्ने व्यक्ति मात्र झापाली सर्जक हुन् । कसैले झापाबाट कृति प्रकाशन गर्छ भने कृतिको चर्चा हुनु पर्छ । त्यो कृति झापाको भए पनि सर्जक झापाली नहुन सक्छ । विधागत छलफल गर्दै स्रष्टाको विवरण प्रकाशित हुनु पर्दछ जसका कारण झापाली सिर्जनाले कुन कुन विधामा कस्तोकस्तो योगदान दिइरहेको छ प्रष्ट हुन्छ ।
विकेन्द्रीकरणको सवालमा साहित्य
डा. रत्नमणि नेपाल (सर्जक)
काठमाण्डौ वा देशको राजधानीमा बसरे गरिने सिर्जना मात्र मूलधारको सिर्जना होइन । देश भित्रका जुनसुकै स्थानमा रहेर गरिने सिर्जना उत्कृष्ट छन् भने ती मूलधार निर्माण गर्ने रचना हुन सक्छन् । यसकारण पनि साहित्यमा अव विकेन्द्रीकरणको चरण प्रवेश गरिसकेको मान्नु पर्छ ।
नयाँ र पुराना पुस्ता बिचमा बहस हुन आवश्यक छ कि छैन ?
प्रा.डा. गंगाप्रसाद अधिकारी (समालेचक÷अन्वेषक)
राजनीतिले साहित्यलाई डोहोर्याउने हुँदा अविछिन्न यात्राका लागि पनि नयाँ र पुराना पुस्ता बिच सहअस्तित्व निर्माण गर्न बहस हुनै पर्छ । जसले एक अर्काको सम्मान गर्ने विधिलाई समेत स्थापित गर्न सक्छ ।
प्रगतिवादमा झापाली श्रष्टाको देन कस्तो छ ?
पुण्यप्रसाद खरेल ( लेखक÷समालोचक)
साहित्यका सवै विधामा धेरै झापाली श्रष्टाले प्रगतिवाद स्वीकार गर्दै आफ्ना रचना लेखन प्रकाशन गर्दै आइरहेको अवस्था छ । तर , पनि मूलधारको नाममा झापाली श्रष्टा छाँयामा पर्दै आइरहेका छन् । यस्तो विभेद हटाएर नेपाली साहित्यको उत्थानमा सवै जुट्न जरूरी देखिन्छ ।
साहित्यको उत्थानका लागि के गर्नु पर्ला ?
डा. रत्नमणि नेपाल (सर्जक)
साहित्यको उत्थानका लागि साहित्यिक पत्रकारिताको निरन्तरता आवश्यक छ । समय र प्रविधि अनुकुल साहित्यिक पत्रकारिताले फस्टाउने अवसर निर्धारित हुनै पर्छ ।
प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासित लामो समय साथमा रहेका लेखक, विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यमा विश्वेश्वरप्रसाद कोइरालाको नेपाली साहित्यमा रहेको योगदान र नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा विज्ञ सर्जक समालोचकहरूसित सामूहिक छलफल समेत गरिएको थियो । छलफलमा नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षकमा प्रा. कविराज न्यौपाने, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा र लेखक लेखनाथ भट्टराईले विचार मन्थन गरेर धारणा राखेका थिए भने सहजीकरण लेखक समालोचक विवश पोखरेलले गरेका थिए भने नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा प्रा.डा. गंगाप्रसाद अधिकारी, लेखक, साहित्यकार डा. रत्नमणि नेपाल र साहित्यकार, समालोचक पुण्यप्रसाद खरेलले तथ्यपरक धारणा राखेको कार्यक्रमको सहजीकरण सर्जक लीला अनमोलले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन धनकुमारी खरेल लताले गरेकी थिइन् ।