मानव—हात्ती द्वन्द्व न्युनीकरणका लागि सोलार फेन्स समुदायलाई
भद्रपुर । मानव—हात्ती द्वन्द्व न्युनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ ।
डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्वन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हात्ती प्रभावित मेची नगर, भद्रपुर, हल्दिवारी, कचनकवल र बाह्रदशी पालिका भित्र रहेका वन समूहलाई आफ्नो क्षेत्र भित्रको निर्मित सोलार फेन्स हस्तान्तरण गरिएको थियो ।
सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार फेन्सको सुरक्षा गर्न समूह सकृय हुने भए पनि मर्मत तथा सञ्चालनको प्राविधिक जिम्मेवारी लिन समस्या हुने भन्दै सरोकारवालारूहसित समूहका प्रतिनिधिले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले वन समूहदेखि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा मानव—हात्ती द्वन्द्व न्युनीकरण अभियान सफल बनाउने धारणा राखेका थिए ।