नयाँ वर्ष हाम्रा लागि अवसर बनोस्

वर्ष २०८० ले हामीलाई देशको लागि समृद्धिको यात्रा तय गर्न प्रसस्तै अवसर छोडिदिएको थियो । आफ्ना लागि आफैं उत्पादन गर्ने, स्वदेशमै रहेर पेशा व्यवसाय गरी राष्ट्रिय उन्नति बढाउने मौका बनेर अवसरका रूपमा आएको थियो । मानव जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन दिएको अवसर सही रूपले प्रयोग हुन सकेन । यही वर्षको सुरूवातसितै प्रचण्ड सरकार त राजनीतिक स्थिरता भन्ने नाराको बेसार छर्किएर अस्थिर राजनीतिक गन्तव्य निर्माण गर्दै कहिले काँग्रेस त कहिले एमालेको पोल्टामा सरकारको भारी बिसाउन तल्लिन रहे । अधिल्लो पार्टीले होस् या पछिल्लो पार्टीले कुनैले पनि नयाँ अवसरलाई पहिचान गरेर सदुपयोग गर्न सकेनन् । श्रमजीवि सर्वहारा भुइँमान्छेहरूका सुसेली ओझेलमा पारे र सर्वआहारामा सरकार रमाइरह्यो । आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने जस्ता अराजक गतिविधिमा रमाएको राजनीतिले देशलाई सही दिशा देखाउन सकेन । संघीयताको मर्ममा समेत उठ्न नसक्ने गरी राजनीतिले प्रहार गरेर छोडेको छ । राजनीतिका नाममा कृत्रिम राष्ट्रियताको उभारले हामीलाई कतै पनि पुग्न नदिने नै हो त ? यहाँं राजनीतिको इमानलाई नयाँ ढंगले बुझ्नुपर्छ । अवसरवादबाट लाभ लिने कुनियत भएकाहरूले राजनीतिमा नेतृत्व गरिरहँदा देश र जनताको भलाई हुने रहेन छ । मान्छे तब मात्र जोगिन्छ, जब ऊ सग्लो सत्यसँग परिचित हुन्छ । अर्थात्, उसले त्यो प्राकृतिक र राजनीतिक असन्तुलनबारे थाहा पाउँछ । ज्यादा सुरक्षित, ज्यादा शान्तिपूर्ण र व्यवस्थित समाजको निर्माण चटके तरिकाबाट हुनै सक्दैन । बिडम्बना नेपाली राजनीतिमा नेतृत्वकर्ताले चटक देखाइ रहेका छन् । यस्तै चटकका बीच २०८० ले विदा लिएर गयो अनि नयाँ वर्षका रूपमा २०८१ ले उदाउने अवसर पाइसकेको छ । नयाँ वर्षसँगै नागरिकमा विगतका तिता राजनीतिक दुष्चक्र बिर्सने इच्छा चाहना जाग्न थालिसकेको छ ।
नेपाल गाउँ बस्तीले भरिपूर्ण देश हो । यहाँका गाउँमा बसेर जमीनको उपयोग मात्र गर्ने हो भने नेपाल अन्न, फलफूल, जरीबुटी उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । ग्रामीण अर्थव्यवस्थाको कुरा चल्दा केवल खेत र खेतीको चित्र खडा हुनु हुँदैन । जब कि गाउँमा ठूला उद्योगहरूका तुलनामा ज्यादै विकल्प र विविधताहरू पनि छन् । तर स्थानीय सरकारहरूको समन्वयमा विगतमा गरिनुपर्ने कामहरू गर्न–गराउन सकिएन । थातथलो छाडेर कमाउन विदेश जानेहरूसँग कस्तो श्रम र सीप छ, त्यसलाई त्यहीँ वरिपरिको क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ ? त्यसतर्फ राजनीतिले गम्भीरता देखाएन । जो जहाँबाट आफ्नो थातथलोमा रित्तो हात फर्किंदै छ, त्यसले श्रम र क्षमता प्रयोग गर्ने अवसर पाउँछ त ? मञ्चमा उभिएर राष्ट्रवादको नारा घन्काउँदैमा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैन । राष्ट्रको चौघेरामा रहेकाहरूले यहीँ रहेर पेट भर्ने अवसर सिर्जना गर्ने मौका निर्माणको आधार खडा गर्न नसक्नेले भाषणवाजी बाहेक के नै गर्न सक्छ ? यस निरास अवस्थालाई परास्त गर्न सक्ने क्षमता प्राप्त होस् भन्दै यही नै सवैलाई नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ।