नयाँ वर्ष देश र जनतालाई आशाको अवसर बनोस्

नयाँ वर्ष आउँदा हरेक मानिसमा नयाँ सोचले प्रवेश पाउँछ । वर्ष २०८० आउँदा हामीलाई देशको लागि समृद्धिको यात्रा तय गर्न प्रसस्तै अवसर आउँछ भन्ने लागेको थियो । आफ्ना लागि आफैं उत्पादन गर्ने, स्वदेशमै रहेर पेशा व्यवसाय गरी राष्ट्रिय उन्नति बढाउने मौका बनेर अवसरका रूपमा आउने विश्वास थियो । मानव जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन दिएको अवसर सही रूपले प्रयोग हुन सकेन । यही वर्षको सुरूवातसितै प्रचण्ड सरकार त राजनीतिक स्थिरता भन्ने नाराको बेसार छर्किएर अस्थिर राजनीतिक गन्तव्य निर्माण गर्दै कहिले काँग्रेस त कहिले एमालेको पोल्टामा सरकारको भारी बिसाउन तल्लिन रहे । अधिल्लो पार्टीले होस् या पछिल्लो पार्टीले कुनैले पनि नयाँ अवसरलाई पहिचान गरेर सदुपयोग गर्न सकेनन् । श्रमजीवि सर्वहारा भुइँमान्छेहरूका सुसेली ओझेलमा पारे र सर्वआहारामा सरकार रमाइरह्यो । त्यसैको परिणाम हुन सक्छ विदेशिने लर्को निकै लम्बिएर बढिरह्यो । राजनीतिले चाल पाएन वा वास्ता गरेन । वि सं २०८० यस्तै सामान्य गतिले पार भइसक्यो ।
संघीयता कार्यान्वयनमा आएपछि नेपालमा तीन तहका सरकार राज्य सञ्चालनको जिम्मेवारीमा छन् । यी तीन वटै सरकारको पहिलो दायित्व संविधानको भावना अनुसार शासन व्यवस्था सञ्चालन गर्नु हो । वर्तमान संविधानले राज्य व्यवस्थालाई समाजवाद उन्मुखका रूपमा परिचित गरिदिएको छ । संविधानको मूल भावना अनुसार राज्य व्यवस्था सञ्चालन गर्नेे नेतृत्वले राज्य सञ्चालन गर्दा श्रमजीवि वर्गको उन्नति या भलाइका लागि नीति नियम बनाएर कार्यान्वयन गर्ने विश्वास पालिएको छ । तर सरकारका हरेक काम कारवाही हेर्दा देश सामन्तवादकै सेरोफेरोमा घुमीरहेको छ । शासक राजामाहाराजा शैलीमा छन् । गरीब वा सर्वहारा श्रमजीवि वर्ग श्रमको मूल्य लिन दास भएर दौडनु पर्ने अवस्था अन्त्य भएको छैन । भ्रष्टाचार, कमिशनतन्त्र, लुटतन्त्र अथवा परम्परागत शैलीको झारीखाने राज्य व्यवस्था प्रवृत्ति जीवन्त छ । यसबेला समाजवादको शालीन प्रयोग प्लेटो या अरस्तुको आदर्श राज्य परिकल्पना जस्तै सिद्धान्त मात्र छोपिएको प्रष्ट हुन्छ । २०४६ सालको परिवर्तन सर्वस्वीकार्य हुन नसक्नुको प्रमुख कारण सामन्ती परम्परा जीवित हुनु थियो । आज फेरि नागरिकले रगत पसिना बगाएर ल्याएको संघीय गणतन्त्र भित्र पनि सामन्तवादी प्रवृत्तिले अस्तित्व देखाउने अवस्था रहिरहनु परिवर्तनमाथि कुठाराघातको संकेत हो । संघीयता सहितको परिवर्तित राज्य व्यवस्थाको चार वर्षे खण्ड कम्युनिष्ट पार्टीले एकछत्र राज गरेको थियो । त्यसयता काँग्रेस र माओवादी हुँदै फेरि कम्युनिष्टमय शासन बनाउने प्रयास भइरहेको छ तर वर्ष २०८० भरी अस्थिर राजनीतिले संघीयतालाई जग हल्लाइरहेको अवस्थाले परिपर्तित व्यवस्था गुम्मने हो कि भन्ने चिन्ता छोडेर गएको छ ।
आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने जस्ता अराजक गतिविधिमा रमाएको राजनीतिले देशलाई सही दिशा देखाउन सकेन । संघीयताको मर्ममा समेत उठ्न नसक्ने गरी राजनीतिले प्रहार गरेर छोडेको छ । राजनीतिका नाममा कृत्रिम राष्ट्रियताको उभारले हामीलाई कतै पनि पुग्न नदिने नै हो त ? यहाँं राजनीतिको इमानलाई नयाँ ढंगले बुझ्नुपर्छ । अवसरवादबाट लाभ लिने कुनियत भएकाहरूले राजनीतिमा नेतृत्व गरिरहँदा देश र जनताको भलाई हुने रहेन छ । मान्छे तब मात्र जोगिन्छ, जब ऊ सग्लो सत्यसँग परिचित हुन्छ । अर्थात्, उसले त्यो प्राकृतिक र राजनीतिक असन्तुलनबारे थाहा पाउँछ । ज्यादा सुरक्षित, ज्यादा शान्तिपूर्ण र व्यवस्थित समाजको निर्माण चटके तरिकाबाट हुनै सक्दैन । बिडम्बना नेपाली राजनीतिमा नेतृत्वकर्ताले चटक देखाइ रहेका छन् । यस्तै चटकका बीच २०८० ले विदा लिएर गयो अनि नयाँ वर्षका रूपमा २०८१ ले उदाउने अवसर पाइसकेको छ । नयाँ वर्षसँगै नागरिकमा विगतका तिता राजनीतिक दुष्चक्र बिर्सने इच्छा चाहना जाग्न थालिसकेको छ ।
नेपाल गाउँ बस्तीले भरिपूर्ण देश हो । यहाँका गाउँमा बसेर जमीनको उपयोग मात्र गर्ने हो भने नेपाल अन्न, फलफूल, जरीबुटी उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । ग्रामीण अर्थव्यवस्थाको कुरा चल्दा केवल खेत र खेतीको चित्र खडा हुनु हुँदैन । जब कि गाउँमा ठूला उद्योगहरूका तुलनामा ज्यादै विकल्प र विविधताहरू पनि छन् । तर स्थानीय सरकारहरूको समन्वयमा विगतमा गरिनुपर्ने कामहरू गर्न–गराउन सकिएन । थातथलो छाडेर कमाउन विदेश जानेहरूसँग कस्तो श्रम र सीप छ, त्यसलाई त्यहीँ वरिपरिको क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ ? त्यसतर्फ नेतृत्वले गम्भीरता देखाएन । जो जहाँबाट आफ्नो थातथलोमा रित्तो हात फर्किंदै थियो, त्यसले श्रम र क्षमता प्रयोग गर्ने अवसर पाएन । मञ्चमा उभिएर राष्ट्रवादको नारा घन्काउँदैमा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैन । निराशाका धेरै पोकाहरू छन् । यस निरास अवस्थालाई परास्त गर्न सक्ने क्षमता नयाँ वर्ष २०८१ ले प्रदान गरोस् सवैमा हार्दिक मंगलमय शुभकामना ।