हल्दिवारीले सामाजिक सुरक्षामा हरेक वर्ष २० करोड ५५ लाख बाँढ्छ

भद्रपुर । सेवा प्रवाहमा देशकै उत्कृष्ट  बन्न सफल हल्दिवारी गाउँपालिकामा वाार्षिक २० करोड ५५ लाख रकम वितरण हुने गरेको छ ।
राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टर मार्फत २०४६ पुरूष र २७५५ जना महिला गरी ४८०१ जनाले सामाजिक सुरक्षा भत्ता वापत २० करोड ५५ लाख रकम लिने गरेका हुन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को चैतसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ८ सय १ पुगेको छ । यो संख्या हरेक वर्ष बढदै गएको गाउँ पालिकाको विरणले देखाउँछ ।
गाउँपालिकाका ५ वटा वडाबाट पहिचान गरेर पठाएका जेष्ठ नागरिक ,जेष्ठ दलित, एकल महिला, विधवा महिला, पूर्ण अपांगता, अति अशक्त र अपांग, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३÷३ महिनामा बैक मार्फत सम्बन्धित व्यक्तिकै खातामा पठाइदिने गरेको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिए ।
पालिकाले उपलब्ध गराएको विवरण अनुसार ११६८ पुरुष र १२०५ महिला गरि २३७३ जना जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छन् ।
त्यसैगरी २६३ एकल महिला र ४४८ विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने ९३ जना पूर्ण अपांगता भएका ५३ पुरुष र ४० महिलाले मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छन् ।
त्यस्तै अति अशक्त अपांगता भएका ९० पुरुष र ६३ महिलाले मासिक २१२८, दलित बालबालिका ५१ पुरुष र ४३ महिलाले मासिक ५३२ र लोपोन्मुख जातिका ६५४ पुरुष र ६६० महिलाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षाका लागि गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत २० करोड ५५ लाख २४ हजार २ सय ३९ रुपैयाँ खर्च हुने गरेको छ ।
पालिकाका अधिकृत राजन न्यौपाने पारदर्शी र जनमैत्री सेवा प्रवाहमा हल्दिवारी गाउँ पालिकाले प्रतिबद्ध भएर लागेकै कारण उत्कृष्ट पालिका बन्न सफल भएको बताउँछन् । उनका अनुसार पालिकाका बासिन्दा सेवा लिन आउँदा कर्मचारी प्रशासनसित असन्तुष्ट हुनु नपर्ने गरी सेवा प्रवाह भइरहेको छ ।