झापा गाउँपालिकामा ७ हजार हेक्टरमा मकै खेती

भद्रपुर । यस वर्ष झापा गाउँपालिकामा व्यवसायिक रूपमा ७ हजार हेक्टर जमिनमा उन्नत जातको मकै खेती गरिएको छ ।

गाउँपालिकाको कृषि विकास शाखाको विवरण अनुसार पालिका भित्र यस वर्ष कृषकहरूले करिव ७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरेका हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अन्जु थपलियाका अनुसार किसानको कृषि कर्मप्रतिको सम्मान गर्दै गाउँपालिकाले मल, विउ, विषादी लगायतका आवश्यक सामाग्री सहयोग स्वरूप उपलव्ध गराउन थालेपछि मकै लगायत कृषि उपजमा आत्मनिर्भरको वातावरण बन्दै गएको छ । मकै, धान र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६० प्रतिशत सिचाइको लागि विधुत महसुल तिरिदिदैं आएको छ थपलियाको भनाइ छ ।

झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट क्षेत्र घोषणा गरिएपछि किसानलाई मकै खेतीका लागि आकर्षण गर्न आवश्यक मल, विउ र औजारमा गाउँपालिकाले अनुदान प्रदान गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिइन् ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाईको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउदै आएको छ । पालिकाले सहयोग गरेसंगै झापा गाउँपालिका भित्र बाझो जमिन देखिन छोडेको छ भने किसानहरू उत्साहित हुदैं आत्मनिर्भर बन्दै गएको कृषि शाखा नायब प्राविधिक साहायक रिता बर्देवाले जानकारी दिइन ।

उनका अनुसार यस बर्ष मात्र झापा गाउँपालिका भित्र लगाइएको मकै क्षती नियन्त्रणको लागि शिविर संचालन गरिएको छ । पालिका भित्र आवद्ध ९२ ओटा कृषि समूहलाई आवश्यक तालिम र अनुदानको व्यवस्था मिलाईएको समेत वर्देवाले जानकारी दिइन । शाखाको अनुसार करिव २८ हजार विघामा लगाइएको मकै ३५ लाख मन भन्दा बढी उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।