किच्चकबधमा सातौं उत्खनन सम्पन्न हुँदै

भद्रपुर । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहाँसिक स्थल किच्चकबधको सातौं उत्खनन अन्तिम चरणमा पुगेको छ ।

भद्रपुर ३ पृथ्वीनगरस्थित देउनिया किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले सातौं पटक उत्खननको काम गरेको हो ।

वि सं २०५८ सालमा पहिलो पटक पुरातत्वविद उद्धव आचार्यको नेतृत्व टोलीले उत्खनन गरेको थियो भने निरन्तर ७ औं पटकसम्म पुरातत्व विभागको नेतृत्व उनै आचार्यले गरिरहेका छन् ।

यस पटकको उत्खननमा उैतिहासिकता दर्शाउने दरवारको भग्नावशेष मात्र फेला परेको विज्ञ आचार्यको भनाइ छ ।

आचार्यका अनुसार यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यताका सामग्री प्रमाणित भएको थियो । यस आधारमा किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको आचार्यले जानकारी दिए । पुरातत्वविद आचार्यका अनुसार भारतमा शुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुन सक्छ । पाँचौं शताव्दिसम्म कायम रहेको अर्थात भारतको गुप्तकालसम्म कायम रहेको र अनुमान छ । त्यस समयमा यस क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण यो स्थल ध्वस्त भएको हुन सक्ने फ्रेन्च भूगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यले सुनाए ।

यसपटक उत्खनन उत्तर पूर्वी कुनामा मन्दिर रहेको क्षेत्रमा भएको छ । उत्खनन भएको क्षेत्र पश्चिममा रहेको संरचना भत्काउनु पर्नेमा अहिलेसम्म नभत्काइनु पर्ने छ ।

उनले उत्खनन गरिएका संरक्षित स्थानमा मान्छेले टेकेर हिँडन नहुने भए पनि मानिसको आवतजावतले भत्किने गरेको पाएएको छ । संरक्षण समितिले सुरक्षित राख्न सक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहने आचार्यको कथन छ ।

उत्खननका लागि सेवा निवृत्त विज्ञ आचार्यसित पुरातत्व विभागका अधिकृत नवराज अधिकारीले पहिलो पटक सहभागिता जनाएका छन् । चैत २ गतेबाट सुरु भएको उत्खनन १८ गते समापन गरी २५ गतेभित्र सुरक्षित गरेर टोली फर्कने कार्यतालिका रहेको आचार्यले जानकारी दिए ।

यसपटक पुरातत्वविद आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नबराज अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशवाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलको सहभागिता छ ।