डा. सन्दुक रूइतलाई निहाल्ने हो भने नेपालमा धेरैथोक हुन सक्छ
विश्व स्वास्थ्य संगठनको विवरण अनुसार विश्वमा अहिले करिव १ करोड ३० लाख मान्छेले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएर अन्धकार जीवन चलाउन बाध्यछन् । यस्तै ६ करोड ५० लाख मानिस मोतियाविन्दुका कारण आंशिक रूपमा आँखा देख्न नसक्ने अवस्थामा छन् । यसरी दृष्टि गुमाएका मध्ये ९० प्रतिशत मानिस कम आय भएको देशमा आर्थिक संकट पूर्ण जीवनयापन गरिरहेका छन् । यस्तो अवस्थाका मानिसहरूको शल्यक्रिया गरेर लेन्स जडान हुने हो भने अन्धोपन हट्छ र आँखाको ज्योति फर्कन सक्छ भन्ने स्वास्थ्य संगठनमा आबद्ध विज्ञहरूको भनाइ छ । तर आर्थिक अभावका कारण सन्सारमा लाखौं मानिस अहिले पनि अन्धोपन पाल्न बाध्य छन् । यस्तो दृष्टिविहीन परिस्थितिको अन्त्य गर्न नेपालका डा. सन्दुक रूइतले सन् १९९४ बाट सुरू गरेको आँखाको ज्योति प्रदायक यन्त्र लेन्स उत्पादन आज सन्सारका ४० बढी विपन्न देशका नागरिकको आँखाको ज्योति बनेर चम्किरहेको छ । नेपालले केही गर्न सक्दैन भन्नेहरूले यही लेन्स उत्पादन र उपयोगको वर्तमान अवस्था मात्र बुझ्ने हो भने सन्सारका लागि नेपाली उत्पादनले पनि कति महत्व र परिवर्तनको वातावरण बनाइरहेको छ भन्ने प्रष्ट हुन्छ । अर्काको देशमा दास भएर बाँच्न तयार हुने तर आफ्नो देशमा इमान र लगनशील बन्दै मालिक हुन नचाहनेहरू नै नेपालमा बसेर केही हुँदैन भनिरहेका छन् ।
एउटा वैज्ञानिक सोच भएका डा. सन्दुक रूइतको एक्लो बलमा भएको प्रयासबाट नेपालमा उत्पादन भइरहेको लेन्स विश्वका ४० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको फ्रेड हलोज इन्ट्राओकुलर लेन्स नेपालको पहिचान र लोकप्रियता बनिरहेको छ । आँखाको दृष्टि फर्काउने विभिन्न प्रकारका ९ थरी इन्ट्राओकुलर लेन्स उत्पादन भइरहेको नेपालबाट विश्वका धेरै गरिब र विपन्न नागरिकहरूले कम मुल्यमा आँखाको ज्योति फर्काउन पाइरहेका छन् । तिलगंगास्थित आँखा प्रतिष्ठानको प्राङ्गणमा रहेको प्रयोगशालाबाट मोतियाविन्दुको शल्यक्रियामा आवश्यक तीन प्रकारका सामग्रीको उत्पादन भइरहेको छ । तिलगंगामा उत्पादन भइरहेका नेपाली लेन्सको बजार मूल्य २ सय ४० रूपैयादेखि ४ हजार रुपैयाँसम्म छ । सन्सारका कुनै पनि देशमा उत्पादित लेन्स यति सस्तो दरमा पाइदैन । नेपालमा लेन्स उत्पादन सुरू हुनु पूर्व बहुराष्ट्र कम्पनी मार्फत उत्पादित लेन्स दुई सय डलरदेखि एक हजार डलरसम्म मूल्य तिरेर किन्नु पर्ने बाध्यता थियो । जसका कारण आर्थिक अवस्था कम्जोर हुने मानिस आर्थिक कारणले दृष्टिविहीन बस्न बाध्य थियो । नेपालको विश्वकै सस्तो आँखा उपचार हुने देशको पहिचान पनि लेन्स उत्पादनले गराएको हो । यहाँ उत्पादित लेन्स पाकिस्तान, दक्षिण अफ्रिका र चीन निर्यात हुने प्रमुख मुलुक हुन् । पछिल्लो समय बजार विस्तार अन्र्तगत टर्कीमा निर्यातका लागि ढोका खुलिसकेको अवस्था छ । यस अवसरले नेपाली उत्पादनलाई विश्वव्यापीकरण गर्न सहजता थपिएको अवस्था छ । नेपालमा उत्पादन हुने लेन्सहरूमध्ये ४० प्रतिशत नेपाली बजारमै खपत हुने र ६० प्रतिशत भने अन्यत्र निर्यात हुने परिस्थितिले नेपालको वैज्ञानिक सोच सन्सारभर आर्थिक उपार्जनको केन्द्र बन्न सफल देखिन्छ । वार्षिक रूपमा करिब २२ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको नेपाली लेन्स गरिबहरूका लागि बरदान सावित भइरहेको छ । डा. रुइतको एकल प्रयासबाट नेपालमा उत्पादन सुरू गरेको लेन्स विश्व बजारमा पठाउँदासम्मको हरेक यात्रा फिल्मको कथाजस्तै देखिन्छ । उनले हरेक पाइलामा भोगेका कठिनाइले लेन्सको उत्पादनलाई थप गुणस्तरीय बनाउन मद्दत पुगेको छ । नेपालमा बसेर केही हुँदैन भन्ने भाषा खडा गर्नेहरूले डा. सन्दुक रूइतले झैँ यहाँ बसेर के के योगदान दिए अनि केही भएन ? यस प्रश्नको जवाफ दिनै पर्छ । एउटा व्यक्तिको प्रयासले सन्सारका करोडौं मानिसको दृष्टि फर्काउन सक्छ भने नेपाल केमा कमजोर छ ? निराशाको खेती लगाउनेहरू सन्दुक रूइतलाई फर्केर हेर त !