सानो स्वरूपको आकर्षक वन खुट्टीडाँगी सिमसार
द्रोण अधिकारी
भद्रपुर । पूर्व, पश्चिम र दक्षिणबाट बाक्लो बस्तीले घेरिएको झापाकै सानो वन क्षेत्रको पहिचान बनाएको खुट्टीडाँगी सिमसार आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएइरहेको छ ।
मेचीनगर ९ स्थित पूर्व पश्चिम राजमार्गको धुलावारी चौकबाट २ किलोमिटर उत्तरमा रहेको सिमसारमा बाल उद्यान, वनभोज स्थल, पोखरी निर्माण लगायत संरचना निर्मित छन् भने वनको सुन्दर प्राकृतिक रूपले समेत पर्यटकलाई आकर्षण गरिरहेको हो ।
११.३४ हेक्टर अर्थात करिव १८ बिगाह क्षेत्रफल मात्र समेटिएको वन क्षेत्रमा जंगल इस्टे निर्माणको चरणमा समिति प्रवेश गरेको छ ।
वार्षि १० लाख वजेट बनाएर काम गरिरहेको समितिको आफ्नो आम्दानी करिव दुई लाख मात्र रहेको छ भने स्थानीय सरकार, प्रदेश सरकार लगायत दाताको सहयोगमा संरचना निर्माण गरिरहेको अध्यक्ष टंकबहादुर नेपालले जानकारी दिए ।
अध्यक्ष नेपालले ७७. ८८ हेक्टरमा रहेको सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि रमणीय ठाउँ रहेको प्रष्ट पारे । खुट्टीडाँगी सिमसार मेचीनगरकै उत्कृट गन्तव्य मध्येको एक हो भन्दै वन समूहका कार्यालय सचिव राजु धिमालले सिमसारमा भौतिक पूर्वाधार थप गरेर अझ व्यवस्थित गरिएको बताए । उनका अनुसार अब स्वीमिङ्ग पुल र फरेस्ट इस्टे छिट्टै तयार हुने छन् जसबाट आन्तरिक र बाह्य पर्यटकलाई थप रमणीयता र मनोरञ्जनको अवसर जुट्ने छ ।
वि सं २०५४ सालमा स्थापना भएको वन समूहले वातावरण संरक्षका लागि पनि विविध काम गरिरहेको छ भने पर्यटकीय क्षेत्रको संरक्षणमा फट्को मार्दै गएको स्थानीयको बुझाइ छ । यस सिमसारमा प्रवेश गर्न व्यक्तिगत ३० रूपैया शुल्क लाग्ने गरेको छ भने वनभोज स्थल प्रयोगका लागि पाँच सय रूपैया लिने गरेको समितिले जनाएको छ ।
जैविक संरक्षण र पर्यावरणको रक्षाका लागि स्थानीयले संरक्षण गरिरहेको यो वन भौगोलिक स्वरूपमा निकै सानो देखिएता पनि हरित ग्यास उत्सर्जनमा महत्वपूर्ण मानिएको छ । यस वनको संरक्षण काठ, दाउरा र घाँस उपभोगका लागि नभएर प्रकृतिको सुरक्षाका लागि भएको स्वयम स्थानीयको भनाइ छ ।