भद्रपुर नगरको सार्वजनिक सुनुवाइमा अपेक्षा अनुसार काम नभएको गुनासो

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका कार्यहरूको गुणस्तरता तथा पारदर्शीतामाथि नगरबासीले प्रश्न उठाएका हुन् ।

सार्वजनिक सुनुवाईमा सहभागीले नगरको चर्चित मेची प्रादेशिक अस्पतालको नव निर्मित भवन कमसल निर्माण हुँदा पनि स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोे, अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला (जीपी) सभागृह निर्माण कार्य पूरा गर्न नगरपालिकाले कुनै पहल नगरेको, दशकयता अलपत्र भद्रपुर शीत भण्डार अलपत्र अवस्थामा रहँदा पनि कुनै चासो नदेखाएको भन्दै सहभागिले आक्रोस पोखेका थिए ।

सार्वजनिक सुनुवाईका क्रममा अधिकाम्स नगरबासीले नगरपालिकाले निर्माण गरेका सडकहरूको गुणस्तरमा पनि प्रश्न गर्दै अदक्ष प्राविधिक भएको आरोप लगाएका थिए ।

नगरबासीका प्रश्नको उत्तर दिँदै नगरप्रमुख गणेश पोखरेलले अलपत्र शितभण्डारलाई सञ्चालन गर्न एक महिनापछि दक्ष प्राविधिक ल्याएर स्थलगत अध्ययन गरी निचोड निकालिने जवाफ दिएका छन् । नगर प्रमुख पोखरेलले, नवनिर्मित मेची प्रादेशिक अस्पताल भवनको गुणस्तर सुधार नभइ सञ्चालन नगरिने भन्दै समस्या समाधान नभएमा ठेकेदारलाई कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस पठाउने प्रष्ट पारेका छन् ।

प्रमुख पोखरेलले गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माणकार्य अगाडि बढाउन संघीय सरकारसित पहल भइरहेको स्पष्ट पार्दै जनमैत्री नगर प्रशासन बनाउन प्रतिबद्ध भएर लाग्ने समेत आश्वासन दिएका छन् ।