साना किसान चन्द्रगढीको तीन दिने तालिम सुारू

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ ।

साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गते सम्म सञ्चालन हुने तालिमको उद्घाटन कोशी प्रदेशका पूर्व कृषि मन्त्री ओमप्रकाश सरावगीले गरेका थिए ।

तालिमको सहजीकरण क्रमशः बचत तथा ऋण केन्द्रीय सहकारी संंघका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, साना किसान कृषि सहकारीका देवी कोइराला, नगर सहकारी शाखा प्रमुख नेत्र पोखरेल, नेप्सुनका कार्यक्रम अधिकृत मुकेश दाहालले गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा सहजकर्ता घनश्याम अधिकारी, भद्रपुर १० नम्बर वडा सदस्य दुर्गाप्रसाद दाहाल, सहकारीकी पूर्व लेखा संयोजक विपला चापागाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा व्यवस्थापक राजन नेपालले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष दुर्गा पौडेल निरौलाले गरेकी थिइन् । कार्यक्रममा सहकारीमा आबद्ध १२७ समूहबाट सदस्य छनौट गरी प्रतिनिधिमूलक सहभागिता गराइएको छ ।