काकरभिट्टा नाका तनावग्रस्त

काकरभिट्टा । झापाको पूर्वी नाका काँकरभिट्टा भएर भारतबाट दैनिक उपभोग्य सामग्री ल्याउन सुरक्षाकर्मीले कडाइ गरेको भन्दै आज महिलाहरुले आन्दोलन गर्दा पूर्वीनाका तनावग्रस्त बनेको छ । विगत केहिदिन देखि पूर्वीनाकामा सशस्त्र प्रहरीले सामान ल्याउनमा अत्यन्तै कडाइ गरेकाले महिलाहरुले आज काँकरभिट्टामा आन्दोलन गरेका हुन । आन्दोलनका क्रममा आज काँकरभिट्टाको सुरक्षा चेकजाँच क्षेत्र तनावग्रस्त बनेको थियो भने नाकामा हात हालाहालको स्थिति नै सृजना भएको थियो । आन्दोलनका कारण पूर्वीनाका करिब दुई घण्टा नाका ठप्प बनेको थियो ।

गरिखाने वर्गलाई अनावयश्यक दुख दिँदै आफुहरुको रोजिरोटी नै खोसिदिएको आन्दोलनमा सहभागी महिलाहरुले आरोप लगाएका छन । तर प्रहरी प्रशासन भने यो आरोप स्वीकार्न तयार छैन । ‘राज्यको नीति अनुसार हामीले कडा गरेका हौँ, भन्सार काटेर सामान ल्याउन हामीले रोकेका छैनौँ र हामीले कसैलाई अनावयश्यक दुख पनि दिएका छैनौँ,’ सशस्त्र प्रहरीका डिएसपी निर्मल थापाले भने,े ‘राज्यको नियम सबैले मान्नपर्छ ।’ आन्दोलनका क्रममा सयौँ महिलाहरु सहभागी रहेकाले नाकामा भएको आन्दोलन नियन्त्रणमा लिन प्रहरीलाई नै सकस परेको थियो । नेपाल प्रहरीका प्रहरी निरिक्षक होम अधिकारी र सशस्त्र प्रहरीका डिएसपी थापा नै बाक्लो संख्यामा सुरक्षाकर्मी लिएर आन्दोलनस्थलमा खटेका थिए ।

अन्ततः अपरान्ह आन्दोलनरत महिलाहरु, सुरक्षा निकाय र भन्सारका अधिकारीहरुको वैठक बसेर विकल्प खोज्ने सर्तमा आन्दोलन मत्थर भएको छ । दिउँसो तनावग्रस्त बनेको पूर्वीनाका अहिले भने शान्त छ ।