आदिवासी समुदायको महान चाड सिरुवा शुरु
भद्रपुर । आज नयाँ वर्ष सुरुवातसँगै झापामा आदिवासी समुदायको मुख्य चाड सिरुवा पर्वसुरु भएको छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाई लगायतका आदिवासी जातजातिहरूले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन । जसमध्ये आज पहिलो दिन जल सिरुवा, २ गते दोस्रो दिन काद सिरुवा र ३ गते तेस्रो दिन रङ्ग सिरुवा खेल्ने गरिन्छ । आज धूमधामसाथ पानी छ्यापेर सिरुवा पर्व मनाइँदैछ । अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस भनी कामना गर्ने धार्मिक प्रचलन अनुसार जल सिरुवा मनाइँदै आएको राजबंशी बिकास समितिका अध्यक्ष पवन राजबंशीले बताए ।
यसैसंदर्भमा झापाका १५ पालिकामध्ये ८ पालिका भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, गौरीगञ्ज, गौरादह, कनकाई र बिर्तामोड नगरपालिकाले आदिवासी समुदायको सिरुवा पर्व र लोपोन्मुख मेचे समुदायको राष्ट्रिय बैशागु बथर पर्वलाई मध्यनजर राख्दै आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।