एसईई परीक्षा सुरू झापामा १५ हजार ८ सय ५८ परीक्षार्थी

भद्रपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापामा १५ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुँदैछन् ।

शिक्षा समन्वय इकाइ झापाको विवरण अनुसार झापामा १ सय २६ सामुदायिक र २ सय ३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने भएका हुन् ।

परीक्षा सञ्चालन गर्न झापामा ५६ वटा परीक्षा केन्द्र रहेका छन् ।

झापामा नियमिततर्फ ७ हजार ६ सय ७२ छात्रा ७ हजार ५४ छात्र गरी १४ हजार ७ सय २६ परीक्षार्थी एसईईमा सहभागिता जनाउने छन् ।

परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरेर परीक्षामा सामेल गराउन लागिएको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख राजकुमार विश्वकर्माको भनाइ छ ।

उनका अनुसार नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी परीक्षार्थीलाई तीन धारमा विभाजन गरिएको छ ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा देशभरी करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयको विवरण अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको जनाइएको छ ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९ सय ५९ परीक्षार्थीका लागि ४ सय ३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३ सय २९ परीक्षार्थी र १ सय ७९ परीक्षा केन्द्र छन् ।