प्रदेशको नाममा पहिचानको माग गर्दै बन्द गर्दा समस्या सहन बाध्य
भद्रपुर । प्रदेशको नामाकरणमा जातीय पहिचानको अस्तित्व माग गरिरहेको समूहको बन्दका कारण आइतवार दिनभर झापाका बासिन्दाले भने अनावश्यक हैरानी व्यहोर्नु परेको छ भने कतिपय स्थानमा बन्दको विरोधमा स्थानीय सडकमा देखा परेका छन् ।
बन्दका पक्षधरले साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्दा अति आवश्यक काममा निस्कनु पर्ने सर्वसाधारणले यातायातका साधन नपाएर आफ्नो काममा अड्चन सहनु परेको थियो भने दैनिक काम गरेर गुजरा चलाउने मजदुरहरूले काम विहिन बन्नु पर्दा झापाको विर्तामोड लगायत केही स्थानमा बन्दको बिरूद्ध स्थानीय सडकमा आएका थिए ।
यसै क्रमममा बन्दको नाममा अराजकता देखाउने ३३ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट ३३ जना बन्दकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका हुन् ।
उनले दमक , बिर्तामोड , काँकडभिट्टा , चारआली र केर्खाबाट बन्द कर्ताहरुलार्ई पक्राउ गरिएको जानकारी दिए । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका थिए । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् ।