भद्रपुर–विर्तामोड सडक अलपत्र पार्ने ठेकेदार कम्पनी कारवाहीमा

भद्रपुर । भद्रपुर—विर्तामोड सडक निर्माण समयमा सम्पन्न नगरी अलपत्र पार्ने ठेकेदार कम्पनी कारवाहीमा परेको छ ।

सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने समय नजिकै आउँदा समेत ३० प्रतिशत भन्दा कम काम गरेको भन्दै सडक निर्माण ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाहीको दायरामा ल्याएको हो ।

सडक डिभिजन दमकसित गरिएको सम्झौताअनुसार ७ महिना मात्र समय बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको निर्माण ठेकेदारका कारण स्थानीय बासिन्दा पीडित भएर आन्दोलनमा उत्रन बाध्य छन् ।

कामप्रति जिम्मेवार नरहेको निर्माण ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम नगर्नुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको बताएको छ ।

भद्रपुर–विर्तामोड सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एम÷एस कन्टेक प्रालिले लिएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थाथ ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।

सडक निर्माणमा ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग निर्माणको काममा ढिलाइ हुनुको लिखित जवाफ माग गरेको थियो । ‘३० महिनामा सक्नुपर्ने काम २३ महिना बितिसक्यो । अहिलेसम्म कामको प्रगति २५ प्रतिशतमात्रै छ । काम किन नगरेको भनेर हामीले पटकपटक सोधीखोजी गरेका छौं । सम्झौताअनुसार काम सक्नुपर्ने भन्दै काम गर्न पटकपटक आग्रहसमेत ग¥यौं । तर, बेवास्ता गरेपछि हामीले पहिलो चरणको कारबाही स्वरुप लिखित स्पष्टीकरण मागेका छौं । स्पष्टीकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्नसमेत हामी तयारी अवस्थामा छौं‚’ सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेललेको भनाइ छ ।

भद्रपुर–विर्तामोड सडक जिल्लाका प्रशासनिक कार्यालयहरू रहेको सदरमुकाम चन्द्रगढी जाने मुख्य सडक हो । दैनिक सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकका लेखा अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिश थापाले भने प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताए । ‘आगामी साउनसम्म सबै काम त सकिँदैन । तर, कम्तीमा साढे ५ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाउने तयारीमा छौं’ उनले भने । उनले सडक डिभिजन कार्यालयले सूचना जारी गरेर स्पष्टीकरण सोध्ने काममा हतार गरेको टिप्पणी गरे ।

‘करिब २ किलोमिटर क्षेत्रमा घर भत्काउनुपर्ने समस्या छ । स्थानीयवासीले अदालतबाट स्टे अर्डर लिएर बसेका छन् । मुलुकमा आर्थिक मन्दी पनि छ । सबै कुरा जान्दाजान्दै पनि सडक डिभिजनले किन हतार गरेर स्पष्टीकरण सोधेको होला, हामी पनि छक्क परेका छौं‚’ थापाले भने । उक्त सडक खण्डको ४ किलोमिटर सडक डिभिजन दमकले दुई वर्षअघि निर्माण गरेको थियो । बाँकी खण्डको सडकको अवस्थासमेत जीर्ण भएकाले कार्यालयले स्रोत व्यवस्थापन गरेर निर्माणको काम अघि बढाएको डिभिजन प्रमुख पौडेलले बताए ।