समानुपातिकमा ७ दलले राष्ट्रिय दलको मान्यता पाए
भद्रपुर । आम निर्वाचन २०७९ मा खसेको मत मध्ये कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर हुँदा सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
समानुपातिकमा सदर मत मध्ये नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ ।
मत परिणाम अनुसार एमालेले ३४ सिट पाउनेछ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।
यसैगरी कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।
माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।
प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।
माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ ।
ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ ।
अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।
उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । जबकी अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २०१ अर्थात ४.९२६३ प्रतिशत मत पाएको थियो ।
पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।
७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।