झापामा ३ शीर्ष नेतासहित २० जना उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने

भद्रपुर । मंसिर ४ गते हुने निर्वाचनमा झापामा उम्मेदवारी दिएका ३ शीर्ष नेता लगायत २० जना उम्मेदवारहरू आफैलाई मतदान गर्न नपाउने भएका छन् ।

प्रतिनिधिसभातर्फ आफैलाई मतदान गर्न नपाउने शिर्ष नेताहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले आफैलाई मतदान गर्न नपाउने भएका हुन् । मतदाता नामावली भएका क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था भएसँगै उम्मेदवार स्वयम् आफूलाई मतदान गर्नबाट बञ्चित हुनु परेको हो । एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २ मा छ । उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौलाको मतदाता नामावली झापा क्षेत्र नं.१मा छ र उनी झापा क्षेत्र नं. ३बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । त्यस्तै, झापा १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेकपा एमालेका खरेलको नामावली झापा क्षेत्र नं. २मा छ ।

यसैगरी झापा ५ मा स्वतन्त्र उम्मेदवारी दिएका दीपककुमार पाठकको मतदाता नामावली काठमाडौं ७ मा रहेको छ । झापा ५ बाटै उम्मेदवारी दिएका नेश्नलिष्ट पिपल्स पार्टीका राजन चुँडालको र स्वतन्त्र उम्मेदवार रामचन्द्र बानियाँको मतदाता नामावली झापा क्षेत्र नं. २ मा छ भने मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेकोे मतदाता नामावलीे झापा १ मा रहेको छ । त्यसैगरी, झापा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका अक्कलबहादुर तामाङको मतदाता नामावली झापा १ मा छ ।

खायामलीको मतदाता नामावली भक्तपुर १ मा, कामतीको मतदाता नामावली झापा १ मा र चेम्जोङको मतदाता नामावली झापा ५ मा, राजवंशीको मतदाता नामावली झापा ४ मा र लामाको मतदाता नामावली काठमाडौंस्थित बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको छ । त्यस्तै, झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुस्यावागको मतदाता नामावली भक्तपुर १ मा, राष्ट्रिय जनमुक्ति पार्टीका गजेन्द्र लिम्बूको मतदाता नामावली ताप्लेजुङमा, स्वतन्त्र उम्मेदवार मनोरथ राजवंशीको मतदाता नामावली झापा २ मा, मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बूको मतदाता नामावली झापा १ मा रहेको छ । यता झापा ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेसनका दिलीप धिमालको मतदाता नामावली झापा १ मा, नेपाल मजदुर किसान पार्टीका विक्रम कासिछवालेको भक्तपुर १ मा र स्वतन्त्र उम्मेदवार उठेका नन्दराज राईको सुनसरी ४ मा रहेको छ ।