झापा ३ का मतदातालाई राजतन्त्र कि गणतन्त्र ?

भद्रपुर । झापा क्षेत्र नम्वर ३ मतदातालाई यस पटक निकै सकस छ । संघीय लोकतन्त्र स्थापनाका लागि यही क्षेत्रबाट २ जनाको रगत बगेको सुकिसकेको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर नेकपा एमालेले यस पटकको संघीय संसदको निर्वाचनका लागि यही व्यवस्थाको कट्टर विरोधी राजेन्द्र लिङ्देनलाई नै समर्थन गरेपछि प्रगतिशील विचार भएका एमालेका मतदाता मन्यौलमा परेका हुन् ।

एकातिर राजतन्त्र र हिन्दू राज्यको नारा दिने नेतृत्वकर्ता राजेन्द्र लिङ्देन अनि अर्कातिर गणतन्त्र स्थापनामा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीचको प्रतिस्पर्धाले झापा ३ को चुनावी भिडन्त चाखलाग्दो बन्दैछ ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीले राप्रपालाई सघाएपछि सिटौला संसद पुग्न रोकिएका थिए भने लिङ्देनले पहिलो पटक सांसद बन्ने मौका पाएका थिए ।

विपरित राजनीतिक ध्रुवको नेतृत्व गर्ने यी दुई नेता झापा ३ मा चौथो पटक चुनावमा आमने सामने भएका छन् ।

मंसिर ४ गते हुने यसपटकको निर्वाचनमा भने लिङ्देनलाई माओवादीको साथ छैन। तर एमालेको साथ पाएका लिङ्देन सिटौलालाई यसपटक पनि पराजित गर्ने योजनामा छन्। अर्कोतर्फ कांग्रेस नेता सिटौला माओवादीसहितका सत्ता गठबन्धनको साथमा अघिल्लो चुनावको बदला लिने पक्षमा छन् ।

एक लाख ३१ हजार ४३२ मतदाता रहेको झापा ३ मा एमाले र राप्रपासँग ४२ हजार २४४ मत छ। त्यस्तै कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग ३२ हजार ६४९ मत रहेको छ। स्थानीय तहको परिणामलाई आधार मान्ने हो भने झापा–३ मा एक्लाएक्लै प्रतिस्पर्धा हुँदा कांग्रेस विजयी हुने देखिन्छ। दोश्रो स्थानमा एमाले र तेश्रो स्थानमा राप्रपा रहने देखिन्छ। तर एमालेसँग गठबन्धन बनेका कारण राजेन्द्र लिङ्देनलाई यो निर्वाचनमा सहजताको स्थिति छ।

२०७४ को चुनावमा लिङ्देन ४४ हजार ६१४ मतसहित विजयी भएका थिए। जबकी सिटौलाले ३१ हजार १५९ मत मात्रै पाएका थिए। तर यसपटकको मतदानका मौजुदा गणित हाबी होला या सिटौलाको गणतन्त्रवादी रुझान निर्णायक बन्ला अहिले नै भन्ने अवस्था छैन ।

२०४८ यताका सबै चुनाव झापा–३ बाट लड्दै आएका कांग्रेस नेता सिटौलाको चुनावी यात्रामा जीत–हारको लुकामारी चल्दै आएको संयोग छ। सिटौलाले अहिलेसम्म प्रतिस्पर्धा गरेका ६ वटा चुनावमध्ये तीन वटामा जीत र तीन वटामा हारको सामना गरेका छन् ।

झापाबाट राजनीतिक यात्रा आरम्भ गरेका सिटौलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा मुलुकलाई गणतन्त्रको मार्गमा डोहो¥याउने सारथीको रूपमा काम गरेका छन्। त्यसयता सिटौलाले संविधान निर्माणदेखि अहिलेसम्म नेपाली राजनीतिमा समन्वयकारी नेताको रूपमा काम गर्दै आएका छन्। संविधान निर्माणका बेला संविधानको मस्यौदा समितिको सभापतिको रूपमा धेरै विवाद टुङ्गो लगाउँदै सिटौलाले आफ्नो समन्वयकारी छवि समेत चम्काइसकेका छन् ।

झापा–३ मा राजावादीलाई मत नदिने भन्दै एमालेका युवा नेता डम्बर गिरीले बागी उम्मेदवारी दिएका कारण लिङ्देनलाई एमालेको सबै भोट आकर्षित गर्न भने चुनौती देखिएको छ । कांग्रेस नेता सिटौला पनि गणतन्त्रवादी एमालेले राजतन्त्रवादीलाई भोट दिन नहुने भन्दै एमालेको भोट आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।