झापा १ मा विश्वप्रकाश र अग्नि खरेलकै बलियो प्रतिष्पर्धा
भद्रपुर । काँग्रेस राजनीतिमा आफ्नै बलबुताबाट देशभरका पार्टी कार्यकर्ताबाट अनुमोदित सकारात्मक सोचका धनी महामन्त्री विश्वप्रकाश शर्मा संघीय संसदका लागि जनअनुमोदनका लागि तेस्रो पटक झापा १ बाट निर्वाचनमा होमिएका छन् ।
वंशको व्याज अथवा ठूला गटगत पाखुरेको साथ नपाउँदा नपाउँदै नेपाली कांग्रेसको १४ महाधिवेशनबाट महामन्त्रीमा विजयी शर्मा तेस्रोपटक संघीय संसदमा प्रतिनिधित्वका लागि झापा–१ को मेची, निन्दा र हडिया खोलाको किनारबाटै यसपटक पनि निर्वाचन लड्दैछन् ।
पार्टी जीवनमा एकल रूपमा लड्दा पनि निरन्तर सफलता हात पार्दै अघि बढेका शर्माका लागि संसदीय चुनाव भने पलामको चिउरा सरह भएको छ । २०७० र २०७४ को चुनावमा झापा–१ उपविजेतामा सिमित भएका शर्मा तेस्रो पटक पनि यही क्षेत्रमा चुनावी परीक्षामा होमिएका छन् ।
यस यस निर्वाचनमा शर्माका प्रतिस्पर्धी बनेर आएका एमाले नेता अग्नि खरेल भने दुई पटक संसदको अनुभव, एक पटक मन्त्री र पटक पटक राजनीति नियुक्तिमा लाभको पद पाएका व्यक्ति हुन् ।
पार्टी अध्यक्ष केपी ओलीका विश्वास पात्र मध्येका एक खरेल प्रत्यक्ष निर्वाचनका लागि पहिलो पटक लड्न उत्रेका व्यक्ति हुन् ।
खरेल विगतमा कानून मन्त्री र महान्यायाधीवक्ता भैसकेका र दुई पटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेका उनी पहिलो संविधान सभामा राष्ट्रपतिबाट मनोनित भएका थिए भने दोस्रोमा समानुपातिक प्रणालीमार्फत् संविधानसभा प्रवेश गरेका थिए ।
२०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेदवार नै विजेता बन्दै आएका थिए । २०७४ मा पनि एमाले र माओवादी गठबन्धनबाट माओवादीका राम कार्की यो क्षेत्रमा विजेता बनेका थिए ।
एक लाख बीस हजार ३ सय ७५ मतदाता रहेको झापा–१ मा स्थानीय चुनावमा एमालेका वडाध्यक्षहरूले ३१ हजार २ सय ३२ मत छ भने कांग्रेसका वडाध्यक्षहरूले २४ हजार ५९ मत प्राप्त गरेका छन् ।
झापा–१ मा एमाले–राप्रपा गठबन्धनसँग ३७ हजार १ सय ५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४ सय ७८ मत छ । यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ । प्रदेश सभाको क्षेत्र ‘ख’ पाएको राप्रपाबाट सविना बजगाईं उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन् ।
कांग्रेस सहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले यसपटक चुनाव जित्ने लक्ष्यमा छन् ।
अघिल्लो निर्वाचनमा पनि शर्माले कांग्रेसले स्थानीय चुनावमा प्राप्त गरेको भन्दा झण्डै ९ हजार बढी मत ल्याएका थिए । स्थानीय कांग्रेस नेताहरूले विश्वप्रकाशको व्यक्तित्वको प्रभावले यो चुनाव जित्ने दाबी गर्छन् ।
अर्कोतर्फ पार्टीको बलियो संगठन भएको आडमा खरेलले चुनाव जित्ने एमालेका स्थानीय नेता दावी गर्छन् तर झापा–१ मा दुबै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा छैनन् । शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ ।
खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने दावी गरेर प्रचारमा रहेका एमाले कार्यकर्ता चुनाव जित्ने विश्वासमा भने रहन सकेका छैनन् ।
शर्मा र खरेल आ–आफ्ना पार्टी भित्रका असन्तुष्टि व्यवस्थापन गरेर निर्वाचनमा होमिएका कारण पनि मध्ये जो विजेता बने पनि उनीहरू पहिलो पटक जनअनुमोदित भएर संसदमा पुग्ने छन् ।