एमाले अध्यक्ष ओली र काँग्रेस महामन्त्री शर्मा बीच भद्रपुरमा जम्का भेट

भद्रपुर । नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मावीच भद्रपुर विमानस्थलमा जम्काभेट भएको छ ।

चुनावी रौनकले छोइसकेको अवस्थामा दशैं मानेर गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा भद्रपुर विमानस्थलमा ओली र शर्माको जम्का भेट भएको हो ।

हवाइजहास अवतरणमा केही ढिलो भएपछि दुई नेताबीच झण्डै ४५ मिनेट संवाद भएको कांग्रेस नेता देवेन्द्र गौतमले सार्वजनिक गरेका छन् ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री शर्मासँग गठबन्धनका विषयमा जिज्ञासा राखेका थिए भने जवाफमा शर्माले गठबन्धनले स्पष्ट बहुमत ल्याउने गरी अघि बढेको बताएको जनाइएको छ ।

महामन्त्री शर्माले एमाले र कांग्रेस दुबै आफ्नै बलबुतामा हिँड्न नखोजेको र एउटाको कमजोरीमा टेकेर अर्को उठ्न खोज्ने परिस्थिति बन्नु दुखद भएको शर्माले बताउँदा ओली सहमति जनाएका थिए ।

एमाले अध्यक्ष ओली झापा ५ बाट चुनाव लड्दैछन् भने कांग्रेस महामन्त्री शर्मा झापा १ बाट लड्ने पक्का भएको छ । पाँचदलीय गठबन्धनको भागवण्डामा झापा ५ माओवादी केन्द्रले पाउने सम्भावना छ भने शर्माको क्षेत्र १ मा एमालेबाट रवीन कोइरालाको नाम एकल सिफारिस भएको भए पनि अग्नि खरेले टिकट हात पार्ने चर्चा चलेको छ ।