म्यादी प्रहरीमा ७ हजारको दरखास्त
भद्रपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि झापामा करिव ७ हजारको म्यादी प्रहरीमा दरखास्त परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताएका छन् । पाठकका अनुसार, कति संख्यामा म्यादी प्रहरी नियुक्ति गरिने टुङ्खो भैनसकेको भए पनि लगभग ३ हजारको हाराहारिमा नियक्ति हुनसक्ने सम्भावना छ । तर, निवेदन भने ६ हजार ९५८ जनाको परेको छ । दरखास्त दिनेहरूमा सर्वसाधारणतर्फ महिला १२४७ र पुरुष ३६२६ गरी ४७८३ , विगतका निर्वाचनहरूमा भर्ना भएका म्यादी प्रहरी महिला ६२८ र पुरुष १३९४ गरी २०२२ , पूर्व नेपाली सेना ३५ , पूर्व नेपाल प्रहरी १८ र पूर्व सशस्त्र प्रहरी १० जनाले आवेदन दिएको उनले बताए ।
गत स्थानीय तहको निर्वाचनमा २९०० म्यादी प्रहरीमा भर्ना गरेको थियो । दरखास्त आवेदन बमोजिम असोज ९ देखि १४ गतेसम्म छनोट, असोज २५ गते अन्तिम नामावली प्रकाशन र असोज ३० देखि कार्तिक ८ सम्म तालिम दिने जनाईएको छ ।