अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्ने ६ सवारीसाधन नियन्त्रणमा

भद्रपुर । बर्षेनी असारदेखि भदौ मसान्तसम्म नदी तथा खोलाबाट बालुवा, गिट्टी र ढुङ्गा उत्खनन गर्न प्रतिबन्ध लगाएको हुन्छ । तर चोरी निकासीको माध्यमबाट उत्खनन भइरहेको हुन्छ । यसरी झापामा आज अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन् गरी ओसारपसारमा गर्ने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरी ओसारपसार गर्ने दुई वटा टिपर र चार वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । विरिङ नदीमा बालुवा उत्खनन गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश–१–०१–००१ क ११२४ र वाग्मती प्रदेश–१–०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको पाठकले बताए ।