भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको पाइएको छ ।

मूल भन्सारका रूपमा स्तरीकृत भएयता लगातार कोरोना महामारीको प्रभाव खेपिरहेको कार्यालयले यस वर्ष पनि लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली गर्न सकेको हो ।

सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले रू ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रू २४ करोड १३ लाख ३६ हजार ६०४ रकम मात्र असुली गरेको जानकारी दिए ।

कार्यालयले भन्सार महसुलवापत दुई करोड ७५ लाख ८८ हजार, मूल्य अभिवृद्धि करवापत १२ करोड १२ लाख १२ हजार, अन्त शुल्कमार्फत ८५ लाख ७० हजार, कृषि सुधार शुल्कवापत एक करोड ३२ लाख ४८ हजार, भन्सारसम्बन्धी अन्य आय ७७ लाख १० हजार, स्वास्थ्य जोखिम करवापत पाँच हजार राजस्व असुली भएको उनको भनाइ छ ।

भद्रपुर नाकाबाट सबैभन्दा बढी कपडा, सुर्तीजन्य पदार्थ, माछा र जुत्तालगायतका सामग्री बढी मात्रमा आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । यस नाका हुँदै एक वर्षको अवधिमा भारतलगायत तेस्रो मुलुकमा कुनै पनि प्रकारका सामान निर्यात भएको देखिदैन ।

गत आर्थिक वर्ष २०७७/७८ समेत यस भन्सारले लक्ष्यको ९० प्रतिशत मात्र राजस्व असुली गरेको थियो । विसं २०७५ साउनबाट छोटी भन्सारबाट मूल भन्सार कार्यालयका रुपमा सञ्चालनमा आएको यस भन्सारको मातहतमा पाँचवटा छोटी भन्सार कार्यालय रहेका छन् । त्यसमा पाठमामारी, पन्थपाडा, घेराबारी, केचना र झापा कमुरखोद छोटी भन्सार रहेका छन् ।