कचनकवलका करार कर्मचारीको म्याद थपिएन भद्रपुरमा पनि नथप्न सेवाग्राहीको माग

कचनकवल । राजनीतिक पहुँचका आधारमा जागिर पाएका कचनकवल गाउँपालिकामा कार्यरत करार कर्मचारीलाई गउँ कार्यपालिकाले म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले करार सेवामा कार्यरत १८ जना कर्मचारीलाई साउन १ गतेबाट लागु हुने गरी करार सेवा थप नगर्ने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति पाएका १८ जना कर्मचारीको चालू आर्थिक वर्षको करार सम्झौताको म्याद नयाा आर्थिक वर्षका लागि थप नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

करार सम्झौता म्याद थप नगर्नेको सूचीमा इञ्जिनियर अमित ढुङ्गाना, सब– इञ्जिनियर देवीप्रसाद थपलिया, असिस्टेन्ट सब–इञ्जिनियर सन्तोष खतिवडा, कम्प्युटर टेक्निसियन मुन्ना आलम, सहायक कम्प्युटर टेक्निसियन अमरसिंह राजवंशी, हलुका सवारी चालकहरु सोमनाथ बराल, तुलसीप्रसाद यादव, अनवर आलम, कार्यालय सहयोगी चौकीदार राजेशकुमार गणेश, चौकीदार अलबारुल हक, प्रशासन सहायक राधिका पौडेल रहेका छन् ।

त्यस्तै सुपरीवेक्षक (गणक)तर्फ कृष्ण चौधरी, टेकनारायण गणेश, दीपककुमार राजवंशी, वविता अधिकारी, लयवती राजवंशी, रेखा राजवंशी र रजाक मियाँ रहेका छन् । सुपरीवेक्षकहरूको ६ महिने म्याद दुई महिनाअघि सकिएको थियो । उनीहरूको पनि म्याद नथप्ने बैठकले निर्णय गरेको जनाइएको छ । सुपरीवेक्षकबाहेक अन्य ११ जना करार सेवाका कर्मचारीहरू लामो समयदेखि गाउँपालिकामा काम गर्दै आइरहेका थिए । गाउँपालिकाले ती कर्मचारीहरूको बर्षै पिच्छे म्याद थप गर्दै आइरहेको थियो । तर, यसपटकको कार्यपालिकाको बैठकले म्याद थप नगर्ने निर्णय गरेको हो ।

यसै बीच भद्रपुर नगरपालिकामा पनि करार सेवामा रहेका दर्जनबढी कर्मचारी राजनीतिको आडमा काममा भन्दा समय बिताउनमा व्यस्त हुँदा सेवाग्राही अन्यायमा पर्ने गरेको गुनासो आउन थालेको छ । यस्ता कर्मचारीहरू सेवा लिन कार्यालयमा आइ पुग्ने सेवाग्राहीका काममा भर्कोफर्को गर्ने, लाभ वा कमिसन भए झट्टै काम गर्ने गरेको गुनासो आउन थालेको छ । काम ठग्न खोज्ने भद्रपुर नगर भित्रका करारका सवै कर्मचारीलाई निकाल्नुपर्ने माग उठ्न थालेको छ ।