झापामा ३८ हजार बढी आर्थिक उपार्जन प्रतिष्ठान
भद्रपुर । आर्थिक उपार्जनका लागि निरन्तर कार्य गर्ने झापा जिल्लामा ३८ हजार ७ सय ८९ वटा उद्योग, व्यपार र सेवा प्रतिष्ठान पाइएको छ भने आधा जति सरकारी स्वीकृति विनै सञ्चालनमा रहेका छन् ।
तथ्याङ्क विभागले गरेको प्रथम आर्थिक सर्वेक्षण २०७५ को विवरण अनुसार झापामा सञ्चालनमा रहेका उद्योग, व्यपार र सेवा प्रतिष्ठान मध्ये आधा सरकारी अनुमतिविनै सञ्चालनमा रहेको पाइएको हो ।
तथ्याङ्क कार्यालय मोरङ—झापाले भद्रपुरमा सार्वजनिक गरेको झापाको आर्थिक सर्वेक्षण विवरणले आर्थिक क्रियाकलापमा निरन्तर कार्यरत निकायका गतिविधिलाई २२ वटा सुचकका आधारमा गणना गरिएको समेत प्रष्टा पारिएको थियो ।
तथ्याङ्क विभाग मोरङ तथा झापा हेर्ने कार्यालय प्रमुख तीर्थराज वरालका अनुसार प्रदेश १ मा एक लाख ६८ हजार पाँच सय १८ वटा उद्योग, व्यपार र सेवा प्रतिष्ठान रहेका छन् भने त्यस्ता निकायबाट पाँच लाख ४४ हजार व्यक्तिले रोजगारी पाएका छन् ।
जसमा झापामा मात्र एक लाख १६ हजार व्यक्तिले रोजगार पाएका छन् । दर्ता भएर सञ्चालनमा आएका निकायबाट ७५ प्रतिशत र विना दर्ता सञ्चालनमा रहेका निकायबाट २५ प्रतिशतले मात्र रोजगारी पाएको प्रमुख वरालले जानकारी दिए ।
आर्थिक सर्वेक्षण विवरण अनुसार लेखा राखेर व्यवस्थित सञ्चालन हुने ४७ प्रतिशत र लेखा विवरण नराख्ने ५३ प्रतिशत देखिएको छ ।
झापामा उद्योग र व्यापारिक प्रतिष्ठान सवैभन्दा बढी भएका स्थानीय तहमा मेचीनगर, दमक, विर्तामोड र भद्रपुर प्रथमदेखि चौथोसम्म देखिएका छन् भने लेखा श्रेस्ता राखेर व्यवस्थित सञ्चालनमा रहेका स्थानीय तहमा बुद्धशान्ति, शिवसताक्षी, गौरीगञ्ज र कचनकवल देखिएका छन् । लेखा नराख्ने बाह्रदशी, विर्तामोड र भद्रपुर अग्रस्थानमा रहेको विवरणले देखाएको छ ।
झापामा भाडाका स्थानमा सञ्चालन गर्ने प्रतिष्ठान बढी देखिएका छन् भने आफ्नै घरबाट सञ्चालनमा आएका कम पाइएको छ । यी मध्ये १ देखि ४ जनासम्म रोजगार दिने ९० प्रतिशत देखिएका छन् ।
झापामा प्रमुख जिल्ला अधिकारी छविराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख वरालले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए भने विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।