झापामा यस वर्ष पाँच जना मानिस र दुई हात्तीको द्वन्द्वले ज्यान गयो

भद्रपुर । यस आर्थिक वर्षमा झापा जिल्लामा मानव हात्ती द्वन्द्वका क्रममा पाँच जना मान्छे र २ वटा हात्तीले ज्यान गुमाएका छन् । हात्तीको प्रत्यक्ष आक्रमणमा परेर ५ जना व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसकै कारणबाट दुई वटा हात्ती मारिएका छन् ।

हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक बढी रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै गर्दा र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणले देखाउछ ।

हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए ।

हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मार्ने गरेको घटना मुचुलका विवरणले देखाउँछ । विगतमा भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मानेृ गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबारमा परेर हात्तीको ज्यान जाने गरेको पाइन्छ ।