चन्द्रगढी खानेपानीमा त्रिपक्षीय भिडन्त हुदै

भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।

असार ४ गते सम्पन्न हुने निर्वाचनका लागि नेकपा एमाले—राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रगतिशील समूहबाट वर्तमा अध्यक्ष पुरूषोत्तम अधिकारी, नेपाली काँग्रेसको तर्फबाट गोविन्द लम्साल र स्वतन्त्रबाट यादवप्रसाद भट्टराईको उम्मेदवारी परेपछि नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।

११ सदस्यीय कार्यकारी तथा ३ सदस्यीय लेखा समितिका लागि विगतदेखि नै काँग्रेस एमाले बीच कडा प्रतिष्पर्धा हुने गरेको समितिमा मिश्रित परिणाम आउने गरेको छ ।

यस पटक एमाले एक्लै मैदानमा छैन भने काँग्रेस एकल मैदानमा उत्रिएको छ । एमालेको तर्फबाट नेतृत्वका लागि उम्मेदवारी दिएका पुरूषोत्तम अधिकारी तेस्रो कार्यकालका लागि मैदानमा छन् भने काँग्रेसका तर्फबाट उम्मेदवार रहेका गोविन्द लम्साल पहिलो पटक शिक्षा क्षेत्र बाहिर आएर पूर्ण रूपमा सामाजिक कार्य मानिएको समितिको नेतृत्व दावी गर्न आएका हुन् । यस्तै सामाजिक क्षेत्रमै कृयाशील रहेका युवा यादवप्रसाद भट्टराईले पनि नेतृत्व दावी सहित पहिलो पटक खानेपानी समितिको नेतृत्वका लागि उम्मेदवारी दिएका छन् ।