भद्रपुरको समृद्धिसित गासिएका यी आयोजना कहिले निर्माण सम्पन्न होलान् ?

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित मेची रङ्गशाला अगाडि निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अलपत्र परेको वर्षौं भयो । लोकतान्त्रिक गणतन्त्र नेपालका हिमायती पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण शुरु गरिएको बहुद्देस्यीय महत्व बोकेको भवन तोकिएको समयमा नबन्दा अलपत्र परेको हो । ११ करोड २६ लाख २७ हजार पाँच सय ५१ रुपैयाँको लागतमा २०७४ असार १० गते भवन निर्माण कार्य सक्ने गरी २०७२ साल असार २७ गते भवनको शिलान्यास भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले भवनको संयुक्त रुपमा शिलान्यास गरेका थिए । प्रेरा–शाह इन्जिनियरिङ जेभी काठमाडौँसँग २०७२ असार १० गते सम्झौता गरिएसँगै भवनको शिलान्यास भने असार २७ गते गरिएको थियो । तर, भवन निर्माण सम्पन्न गर्नुपर्ने मिति सकिएको ५ वर्ष जान लाग्दा समेत भवन निर्माण कार्य अधुरै रहेको छ । निर्माणका लागि आवश्यक वजेट विनियोजनमा सरकारी पक्ष उदासिन हुँदा काम अगाडि बढ्न नसकेको सत्यलाई स्वीकार गर्ने हो भने एमाले, माओवादी र काँग्रेस गरी तीन वटै दलका नेतृत्व दोषी हुन भन्न हिचकिचाउनु पर्दैन ।

त्यस्तै भारतीय राजदूतावासको सहयोगमा भद्रपुर–३ मा निर्माणाधीन अरनिको माविको भवन अलपत्र परेको पनि वषौं भएको छ । यस्तै भद्रपुर–५मा निर्माणाधीन शीत भण्डार समेत निर्माण सम्पन्न हुन नसक्दा अलपत्र छ । भारतीय दूतावासको सहयोगमा झण्डै डेढ दश अघि निर्माण शुरु भएको सित भण्डार निर्माणको काम भद्रपुर नगरपालिकाले हेर्दै आएको छ । नेपाल–भारत मैत्री सङ्घको पहलमा भारतीय दूतावासको आर्थिक सहयोगमा भद्रपुर नगरपालिकाले २०६७ साल मङ्सिरबाट १५ महिनामा सम्पन्न गर्ने गरी ४ करोड १३ लाख, ३७ हजार ३ सय ६४ रुपँयाको लागतमा निर्माण शुरु गरेको कोल्ड स्टोर हालसम्म पनि निर्माणाधीन अवस्थामै छ । तोकिएको समय सीमाभित्र पनि ठेक्का लिने सुनौलो खिम्ती कन्ट्रक्सन काठमाडौँले काम नगरेपछि दूतावासले गर्ने भनेको आर्थिक सहयोग समेत रोकिदिएको जनाइने गरेको छ ।

हुन त कतिपय नगरबासीलाई यी तीन वटा आयोजना मात्र भद्रपुरसित गाँसिएको समृद्धि हो त ? भन्ने प्रश्न उठ्न सक्छ । अहिलेको अवश्यकतामाथि छलफल गर्ने हो भने यी तीन वटा संरचना सामान्य उन्नति मात्र हुन सक्छन् तर दीर्घकाललाई सम्झने हो भने जिपी भवन बहुद्देश्य उन्नतिपथ बन्न सक्छ । यस भवनकै कारण प्रदेश १ मा आयोजना हुन सक्ने ठूला कार्यक्रम भद्रपुरमा आइपुग्न सक्छन् । आन्तरिक पर्यटनको प्रभाह बढेर जाँदा यातायात, होटल जस्ता व्यवसायमा बढोत्तरी हुन सक्छ जसका कारण आन्तरिक रोजगारी बृद्धि भएर भद्रपुरका बासिन्दामा केही हदसम्म स्थायित्व थपिन पुग्छ । यस्तै शीत भण्डार भद्रपुरको कृषि व्यवसायको उन्नतिका लागि अविस्मरणीय छ । यदि यस भण्डारको सञ्चालन हुने हो भने भद्रपुरका किशानका छिटो बिग्रन सक्ने कृषि उपज लामो समयसम्म भण्डारण मार्फत संरक्षण गरी बजारीकरणमा सहयो मिल्ने थियो । जसको प्रत्यक्ष फाइदा भद्रपुरका श्रमजीवि कृषकले लिन पाउने थिए अनि व्यवसायिक कृषि विकासको वातावरण बढेर जाने थियो । भद्रपुर ३ स्थित अरनिको माविको भवन अलपत्र हुँदा के फरक पर्छ त ? भनेर प्रश्न उठाउनेहरूले नगरको उन्नतिपथ खोज्ने हो भने शिक्षाको विकास पहिलो सर्त हो भन्न लजाउनु पर्दैन । त्यसो भए गरिव, विपन्न र सिमान्तकृत वर्गका सन्तानले सुविधा सम्पन्न शिक्षालयमा पढने वातावरणले शिक्षण सिकाइमा सकारात्मक प्रभाव छोड्छ भन्नु पर्ने हुन्छ । भारतीय दुतावासको अनुदानबाटै भए पनि अरनिको माविका विद्यार्थीलाई छाप्रे तथा धराप विद्यालय भवनबाट मुक्त गराउन निर्माण थालिएको विद्यालय भवन सम्पन्न नभइ अलपत्र परेको अवस्था छ । त्यहाँ अध्ययनरत विद्यार्थीका लागि नभइनभएको यस भवनको निर्माण अनिवार्य आवश्यकता हो । अलपत्र भवनमा बसेर पढ्नु पढाउनु परेको पीडा दुःखदायी छ । यी र यस्ता संरचना वषौंं अलपत्र पर्नु भौतिक उन्नतिमा बाधा सिर्जना हुनु हो । हिजोका कम्जोरी अव सुधार्छौ भन्ने नेतृत्वसित भद्रपुरबासीको एउटै प्रश्न छ अलपत्र संरचना कहिले पूरा होलान् ?