महेन्द्रको शालिक जवर्जस्ती पुनर्स्थापना गर्ने प्रयास विफल

भद्रपुर । सर्वदलीय सहमतिविपरित जवर्जस्ती महेन्द्र पार्कमा स्वर्गीय राजा महेन्द्र शाहको शालिक पुनर्स्थापना गर्ने राजावादीहरुको प्रयास सफल हुन सकेन ।

स्वर्गीय राजा महेन्द्र शाह शालिक पुनर्स्थापना समितिलाई भद्रपुर– ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि उनीहरुको कार्यक्रम विफल बनेको हो। सुरक्षाकर्मीले समितिका संयोजक सन्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण बनेको थियो। पार्कभित्र राजा महेन्द्रको अर्धकदको शालिक राख्ने समितिको पूर्वघोषित कार्यक्रमअनुसार शनिबार दिउँसो १ बजे ¥यालीसहित राजावादीहरू त्यहाँ पुगेका थिए। राष्ट्रिय झन्डा, ब्यानरसहित हातमा कुचो बोकेर पुगेका उनीहरूलाई सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्न दिएनन् । उनीहरू शालिक नलिई सरसफाइ गर्न त्यहाँ पुगेका रहेछन्।
तर पनि सुरक्षाकर्मीले उनीहरूलाई सडकमै रोक्यो। पार्कभित्र प्रवेश गर्न नपाएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिए। उनीहरूले सडक अवरोध गरी स्थानीय सरकार र प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरे।

उनीहरूले बल प्रयोग गरेर पार्कभित्र छिर्न खोज्दा सुरक्षाकर्मीले पनि बल प्रयोग गरेर उनीहरूलाई रोकेका थिए। दुवै पक्षबीच सामान्य घम्साघम्सी भए पनि झडपको स्थिति भने आएन। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठक र सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका डिएसपी प्रेम पोखरेल समेत घटनास्थलमा खटिएका थिए।

अन्ततः समितिको कार्यक्रम सुरक्षाकर्मीले विफल बनाइदिएपछि उनीहरूले सदरमुकाममा आधा घण्टा यातायात बन्द गरी विरोध प्रदर्शन गरेका थिए। भद्रपुरको ट्रेड युनियन चोकको बीच सडकमै बसेर उनीहरूले यातायात बन्द गराउँदा सवारीसाधन र यात्रुले सास्ती झेल्नु परेको थियो। त्यसपछि उनीहरू कोणसभा गरी कार्यक्रम समापन गरी फर्किए।

भद्रपुर नगरपालिकाको स्वामित्वमा रहेको महेन्द्र पार्कमा कुनै पनि गतिविधि गरेमा नगरपालिकासँग समन्वय र सहकार्य गरी अघि बढने भनी जिल्ला प्रशासन कार्यालय झापाले सर्वपक्षीय बैठक राखेर बुधबार निर्णय गरेको थियो । तर, समितिले प्रशासनको निर्णयविपरीत पार्कभित्र गतिविधि गर्न खोज्दा प्रहरी प्रशासनले रोक लगाएको हो ।
यसैबीच स्वर्गीय राजा महेन्द्र शाह शालिक पुनर्स्थापना समितिका संयोजक मैनालीले पार्कभित्र जसरी पनि राजाको शालिक राखेरै छाडने बताएका छन् ।  https://pratidindaily.com/63906/