स्थानीय तह निर्वाचनको अवस्था अनुगमनमा सदस्य थापाको टोली झापामा
भद्रपुर । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाको टोली झापामा स्थलगत अनुगमनमा आइपुगेको छ ।
झापा सदरमुकाम भद्रपुर आइपुगेकी थापाले स्थानीय तह निर्वाचनका बेलामा मानव अधिकारको उलंघनको अवस्था तथा निर्वाचन आचार संहिताको पालनाका बारेमा सञ्चारकर्मी र सरोकारवालासित अन्र्तक्रिया समेत गरेकी छिन् ।
थापाले निष्पक्ष निर्वाचनका लागि प्रचलित नियम कानुनको पालनाको अवस्था, खुल्ला सिमानाबाट सिर्जना हुन सक्ने परिस्थितिको आँकलन, महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त अपाङ्गता भएका व्यक्तिका लागि सहज वातावरण भए नभएको लगायत विषयमा केन्द्रित भएर अनुगमनलाई अगाडि बढाइ रहेको जानकारी दिइन् ।
आयोगकी उपसचिव मञ्जु खतिवडा सहित प्रदेश १ को अनुगमनमा निस्किएकी थापाले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आगोगलाई सचेत पार्ने तथा आवश्यक नियम कानुन परिमार्जन गर्नु पर्ने भए सुझाव दिने जानकारी दिइन् ।