स्थानीय तह निर्वाचनका लागि गठबन्धनको भद्रपुर प्रतिबद्धता सार्वजनिक

भद्रपुर । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

झापा सदरमुकाम समेत रहेको नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको नगरको समृद्धिको खाका सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको सम्युक्त गठबन्धनले साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

गठबन्धनका तर्फबाट प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक माओवादी केन्द्रका नेता नरपति लिम्बूले पेश गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिका, पूर्वाधार विकास, आर्थिक नीति, सेवा प्रवाह तथा शुसासन, युवा तथा खेलकुद, साँस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रर्वधन, वातावरण व्यवस्थापन, विपद व्यवस्थापन, सुकुम्बासी समस्या हल तथा अव्यवस्थित बसोबास व्यवस्थापन शीर्षकमा विस्तृत विवरण सहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का कार्यवाहक सभापति गीताप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध भद्रपुर नगर बनाउन विस्तृत कार्योजना सहित आफूले नेतृत्व दावी गरेको भन्दै मेयरका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमान्दार रहने बाचा गरेका छन् ।

उपमेयरका उम्मेदवार शिवकुमार राजभण्डारीले भद्रपुरको विकासका लागि स्मार्ट सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै नगर भित्र हुने गरेका भ्रष्टाचार तथा चुहावट रोकेर नगरबासीको जीवन स्तर उकास्न प्रतिबद्ध भएको प्रष्टिकरण दिएका छन् ।

यस्तै, नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाउँदै जनताको कामलाई सहज ढंगले सम्पादन गर्न सेवाको प्रकृति हेरी समयावधि तोकी सेवा प्रवाह गरिनेलगायका योजना समेटिएका छन् ।

साझा गठबन्धनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शिक्षालाई उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था गरिने, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क क्रमिक रूपमा निःशुल्क गर्दै लैजाने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक औषधि एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी सेवा प्रवाह गर्ने, नगरवासीका लागि स्वास्थ्य जीवन शैली नीति अबलम्वन गर्दै सन्तुलित आहार र शारीरिक व्यायाम प्रवद्र्धनका लागि स्वास्थ्य शिक्षा, सञ्चार तथा सूचनामा विशेष जोड दिइने उल्लेख छ ।

त्यस्तै, भद्रपुर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रलाई एमबिबिएस डक्टरको सेवा सहित सबैको भरोसायुक्त एवम् प्रविधियुक्त अस्पतालको रूपमा विकास गर्ने लगायत समावेश गरिएको छ ।