गठबन्धनका नेताद्वारा भ्रष्टाचारमुक्त समृद्ध बिर्तामोड बनाउने उद्घोष

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनका नेताहरुले बिर्तामोडलाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् । गठबन्धन दलले सोमबार बिर्तामोड–४ को अन्नपूर्ण चोकमा आयोजना गरेको कोण सभामा बोल्दै बिर्तामोडलाई भ्रष्टचारमुक्त समृद्ध पालिका बनाउने उद्घोष हुन् ।

चुनावी घरदैलो कार्यक्रम अन्तर्गत गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले गठबन्धन दलको स्थानीय सरकार बनेमा बिर्तामोड नगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् । उनले सरकारले नगरप्रमुखलाई उपलब्ध गराउने गाडी जनताको सेवाका लागि एम्बुलेन्समा परिणत गर्ने र आफू मोटरसाइकल नै प्रयोग गर्ने बताए । गाडी चढ्नै पर्ने भए आफै खरिद गर्ने उनले बताए । राज्यले उपलब्ध गराउने रकमको आधा हिस्सा विपन्न वर्गका बालबालिकाको पठनपाठनमा खर्च गर्ने सिटौलाले घोषणा गरे । विलासी जिवन बिताउन र कमाउनका लागि राजनीति नगरेको भन्दै सिटौलाले विशुद्ध जनताको सेवा गर्न अनवरत राजनीतिमा होमिएको बताए ।

खेल क्षेत्रको विकासका लागि पाँच बर्षे कार्यकालमा डोमालाल राजवंशी रंगशालालाई व्यवस्थित बनाईछाड्ने सिटौलाले प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा राष्ट्रिय स्तरको खेल आयोजना गर्ने पनि बताए । बिर्तामोड–३ का निवर्तमान वडाध्यक्षसमेत रहेका सिटौलाले राजनीतिमा इमान्दारिता आवश्यक रहेको बताउँदै गठबन्धन वर्तमान समयको माग रहेको धारणा राखे । उनले गठबन्धनका नेताहरुलाई बिना संकोच भोट गरी जिताउन सम्पूर्ण मतदातालाई आग्रह गरे ।

कोणसभालाई सम्बोधन गर्दै उपप्रमुख पदका उम्मेदवार चन्द्रप्रसाद (सिपी) कडरियाले बिर्तामोडलाई प्रविधिमैत्री नगरको रुपमा स्थापित गरिने बताए । हरेक क्षेत्रलाई प्रविधीसँग जोडेर सेवाग्राहीको समय र पैसाको बचत गरिने उनले प्रतिबद्धता जनाए । आफु जनप्रतिनिधी नभएपनि नगरको विकासका लागि एक दशकदेखि लागि रहेको बताउँदै जनप्रतिनिधी बनाएर थप जिम्मेवारी प्रदान गर्न मतदातालाई आग्रह गरे ।

कार्यक्रममा बिर्तामोड–४ का निवर्तमान वडाध्यक्षसमेत रहेका वडाध्यक्ष पदका उम्मेदवार कुलप्रसाद संग्रौला, महिला सदस्य पदका उम्मेदवार सरिता मगर, दलित महिला सदस्य पदका उम्मेदवार आशा परियार, वडा सदस्य पदका उम्मेदवारहरु गोपीकृष्ण अधिकारी र राजु राजवंशी (सन्तोष), नेकपा माओवादी केन्द्र झापाका सहइन्चार्ज ज्योतिसिं दर्लामी, बिर्तामोड गठबन्धन चुनाव प्रचारप्रसार समिति संयोजक लक्ष्मी आचार्यलगायत कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।