अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता
काठमाण्डाै । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध आज बिहीवार नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । ती किशाेरीले आफूलाई एक वर्षअघि गैँडाकोटको एक होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध दिएको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलको कार्यालयले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।
अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । याे दफामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष कैद सजाय हुने उल्लेख छ ।
अहिले जिल्ला प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका पलमाथि अनुसन्धान चलिरहेकाे छ । यसअघि गएकाे फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको थियाे ।