हिमाल सुरक्षा परिषद्को सशस्त्र युद्धको घोषणा

भद्रपुर । झापाली संचारकर्मीलाई भूमिगत हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्धको घोषणा गरेको एक बिज्ञप्ति प्राप्त भएको छ । विज्ञप्तिमा, हिमाल सुरक्षा परिषद् नेपालले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग गर्दै सशस्त्र युद्धको घोषणा गरेको उल्लेख छ । हिमाल सुरक्षा परिषद् नेपालका केन्द्रीय अध्यक्षको हस्ताक्षरसहित प्राप्त विज्ञप्तिमा भनिएको छ– यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रोही र खर्चिलो सङ्घीयतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गर्दछौँ । परिषद्ले विभिन्न २० बुँदे मागहरू पनि राखेको छ ।

विज्ञप्तिको विषयमा भने झापा प्रहरीले अनविज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले भने–हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्ध घोषणा गरेको विषयमा कुनै जानकारी प्राप्त छैन । उनले हिमाल सुरक्षा परिषद् नेपाल एउटा आपराधिक समूह भएकाले उनीहरूको खोजी तीव्र बनाइएको जानकारी दिए ।

सञ्चारमाध्यमलाई हिमाल सुरक्षा परिषद् नेपालको पत्र प्राप्त भएको जानकारी लगत्तै झापामा हिमाल सुरक्षा परिषद्को खोजीलाई अझ सुस्म ढङ्गले अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए । उनले भने– हिमाल सुरक्षा परिषद्को नाममा चन्दा आतङ्क सिर्जना गर्ने समूह सक्रिय रहेको छ । हिमाल सुरक्षा परिषद् नेपालका केही शङ्कास्पद व्यक्ति प्रहरीको निगरानीमा रहेको र केही अझै फरार रहेकाले खोजी तीव्र बनाएको प्रहरी निरीक्षक तिम्सिनाले बताए ।