चन्द्रगढी वनमा मिश्रित परिणाम

भद्रपुर  । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।

२२९० मतदाता रहेको सो वनको मङ्गलबार सम्पन्न चुनावमा एकीकृत समाजवादीका दुर्गाप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेद्वार चुडामणि मैनालीलाई अध्यक्ष पदमा पराजित गरेका छन् भने उमेदवारी दिएका सवै दलको प्रतिनिधित्व हुने गरी मिश्रित परिणाम आएको छ ।

अध्यक्षमा विजयी भएका भट्टराईले ९७५ मत प्राप्त गरे भने निकट प्रतिष्पर्धी मैनालीले ८३६ मतमा सिमित हुनु परेको छ । भट्टराई प्यानलबाट नेपाली काँग्रेसकी प्रतिनिधि सचिव पदमा पार्वती मल्ल सर्वाधिक मत १०८० का साथ विजयी भइन् भने मैनाली समूहका उपाध्यक्ष गोकुल ढकाल, सहसचिव ईश्वरीप्रसाद रिजाल र कोषध्यक्ष अनुज खतिवडा विजयी भएका छन् । खतिवडा एमाले र ढकाल, रिजाल राप्रपाका प्रतिनिधि हुन् ।

भट्टराई नेतृत्वको प्यानलबाट क्षेत्र नम्वर २ को संयोजक रमेश न्यौपाने, ३ को संयोजक ताराप्रसाद चम्लागाई, ६ का संयोजक युवराज दाहाल र ९ को संयोजक केशवप्रसाद खतिवडा विजयी भएका छन् भने मैनाली प्यानलबाट क्षेत्र नम्वर ४ बाट जगेश्वर राजवंशी र ५ बाट तोयानाथ बास्तोला विजयी भएका छन् ।

यस्तै भट्टराई नेतृत्वको प्यानलबाट महिला सदस्यहरू क्षेत्र नम्वर ५ बाट लक्ष्मी आचार्य, ६ बाट मञ्जुखतिवडा अधिकारी, ९ बाट कमला शिवाकोटी विजयी भए भने मैनाली प्यानलबाट क्षेत्र नम्वर २ बाट चित्रकला गिरी, ३ बाट सकुन्तला चौधरी र ४ बाट फिटिङ राजवंशी विजयी भएका छन् य त्यसैगरी आदिवासी जनजाति सदस्यमा कान्टु राजवंशी र बालकुमार राई, दलित सदस्यमा लालबहादुर चाहार दर्जी र अपाङ्ग सदस्यमा ध्रुव सुवेदी विजयी भएका छन् ।

यस पटक वनको चुनावमा लोकप्रिय उम्मेदवारले मात्र चुनाव जितेका छन् । नेकपा एकीकृत समाजबादीको नेतृत्वको गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सामेल थियो । अर्कातिर नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनमा राप्रपा सहभागी थियो ।

चन्द्रगढी सामुदायिक वनको अवधारणा, स्थापना र सञ्चालनमा जहिल्यै दुर्गा भट्टराईको भूमिका नेतृत्वदायी रह्यो । २०५४ साल असोज २१ गते वनको स्थापना भयो र यसले कानूनी मान्यता २०६६ मा प्राप्त गरेको थियो । स्थापनाकालदेखि एक कार्यकाल बाहेक सवै अवधिमा भट्टराई नै अध्यक्ष रहँदै आएका छन् । यस अघि एकपटक चुनाव भएको थियो । जसमा नेकपा एमालेका नेता हिरा पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।